प्रदेश २ का प्रदेश प्रमुख पदबाट हटाइए, नयाँ प्रदेश प्रमुखमा 'झा' नियुक्त
करिब १७ महिनाको कार्यकालपछि उनलाई राष्ट्रपति कार्यालयले शुक्रबार पदबाट पदमुक्त गरेको हो । रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको हो ।

२०७७ फागुन ७ शुक्रबार, दिउँसो ४:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश प्रमुख (तत्कालिन) तिलक परियारलाई पदमुक्त गरिएको छ । उनलाई आजै पदमुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै परियारलाई पदमुक्त गरिएको उल्लेख गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।
प्रदेशप्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए ।
उनी केही समय नेत्रविक्रम चन्द ’विप्लव’ को समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए । मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहटका राजेश झा (राजेश अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले प्रजातन्त्र दिवसकै दिन झा (राजेश अहिराज) लाई नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको जनाउँदै परियारलाई पदबाट पदमुक्त गरिदिएको हो । परियार गत बर्ष २०७६ साल कार्तिक १० गते प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।
करिब १७ महिनाको कार्यकालपछि उनलाई राष्ट्रपति कार्यालयले शुक्रबार पदबाट पदमुक्त गरेको हो । रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…