विवाहदर्ताको लागि कर्मचारीले ४ गुणा बढी रकम लिएको आरोप
गाउँपलिकाको वडा नं ५ निवासी यादवले शुल्क असुलीको शिर्षकबारे सोध्दा कर्मचारीहरुले आनाकानी गरेको बताए ।
२०७७ माघ ३० शुक्रबार, बिहान ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को बारा जिल्लाको एक पालिकाले विवाहदर्ताको लागि ४ गुणा बढी अतिरिक्त रकम लिएको आरोप लगाइएको छ ।
बाराको सुवर्ण गाउँपालिकामा सामाजिक परम्परा पञ्चिकरणका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ । विवाह दर्ता, जन्मदर्ता लगायतकाको दर्ता पञ्जिकरणका लागि सरकारी शुल्क ४ गुणा बढी शुल्क लिने गरेको पाइएको हो ।
विवाह, जन्म तथा मृत्यु लगायतका घटनाहरु ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने प्रावधान छ । त्यस उपरान्त ५० रुपैँया जरिवाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ । जरिवाना तिरे पश्चात् स्थानिय तहले अनिवार्य रुपमा रसिद उपलब्ध गराउनुपर्छ ।
तर, सुवर्ण गाउँपालिकामा सरकारी दस्तुरभन्दा ४ गुणा बढी शुल्क लिएर रसिद पनि उपलब्ध नगराएको खबर छ ।
बुधबार विवाह दर्ता गराउन गाउँपालिकाको कार्यालय पुगेका स्थानिय सुमित प्रसाद यादवले विवाह दर्ता बापत रु. २ सय बुझाएका छन् । गाउँपालिकाका कर्मचारीले विवाह दर्ताको प्रमाण पत्र बापत आफुसँग २ सय रुपैँया लिएको यादवले गुनासो गरेका छन् ।
गाउँपालिकाका कर्मचारीले विवाह दर्ता प्रिन्ट आउट गरेर २ सय रुपैँया मागे, सबैले दिँदै थिए, मैले पनि दिए यादव भन्छन् रसिद माग्दा, यस्को रसिद पाईदैँन भनेर फर्काए ।
गाउँपलिकाको वडा नं ५ निवासी यादवले शुल्क असुलीको शिर्षकबारे सोध्दा कर्मचारीहरुले आनाकानी गरेको बताए ।
गाउँपालिकामा विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्तालगायतका प्रमाण पत्र बनाउन आउनेहरुसँग कर्मचारीहरुले २ सय देखि ५ सय रुपैँयासम्म असुली रहेका छन् । दैनिक रुपमा दर्ता हुन आउने यस्ता प्रमाण पत्रहरु बनाए बापत कर्मचारीहरुले हजारौँ रुपैँयाको अनियमितता गरिरहेको स्थानियहरुले बताएका छन् ।
यता, गाउँपालिका अध्यक्ष महेन्द्रराय यादवले विवाह, जन्म, मृत्युलगायतका सामाजिक परम्परा दर्ता बापत सरकारी निर्देशनभन्दा बढी शुल्क लिन नपाईने स्पष्ट पारे ।
गाउँपालिकाले संघीय सरकारले निर्धारण गरेको शुल्क लिइरहेको उनले स्पष्ट पारेका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिने कर्मचारी विरुद्ध तत्काल कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले जानकारी गराएका छन् ।
गाउँपालिकामा लाग्ने प्रत्येक दस्तुरको रसिद सेवाग्राहीलाई दिने गरिएको उनले बताए । तैपनि गाउँपालिकाका कर्मचारीहरुले भने अवैध रुपमा शुल्क असुलिरहेका छन् । सरकारी नियम र निर्देशनको धज्जी उडाउँदै कर्मचारीले ४ गुणासम्म बढी शुल्क लिएको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…