ओलीको ठाडो आदेशले प्रहरी गुण्डागर्दी शैलीमा निहत्थामाथि लाठी बर्साए : बरबरिया
झडपको क्रममा प्रहरीको पनि दुई जवान घाईते भएका छन् । सबै जनाको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ ।

२०७७ माघ २२ बिहीबार, दिउँसो ३:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपा प्रदेश कमिटि सदस्य उदय कुमार बरबरियाले प्रहरीले गुण्डागर्दी शैलीमा प्रदर्शनकारीहरु उपर लाठीचार्ज गरेको बताएका छन् । झडपको क्रममा मेयर बरबरिया समेत समान्य घाईते भएका छन् ।
विहिबार दिउँसो करिब २ बजे जनकपुरको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपको क्रममा प्रहरीले अन्धाधुन लाठीचार्ज गरेको आरोप लगाउँदै उनले केपी ओलीको ठाडो आदेशमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका प्रदर्शनकारी उपर लाठी बर्साएको बताए ।
उनले केपी नेतृत्वको सरकारको गृहमन्त्रालयबाट प्रहरीलाई भएको रिर्पोटिँग र आदेश अनुसार सुनुयोजित तवरले अन्धाधुन लाठीचार्ज गरी केन्द्रीय नेताहरुलाई घाईते बनाएको आरोप लगाएका छन् । सो क्रममा नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा, पूर्वमन्त्री मातृका प्रसाद यादव र नेकपा धनुषा जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य श्रवण कुमार बरबरिया लगायत करिब एक दर्जन नेताकार्यकर्ता घाईते भएका छन् ।
नेकपा प्रचण्ड–माधव पधक्षरको केन्द्रीय निर्णय अनुसार देशव्यापी बन्दको क्रममा जनकपुरमा पसल, बजार बन्द गराउँदै गर्दा प्रदर्शनकारीमाथि प्रहरीले गुण्डाशैलीमा लछारपछार गरी लाठीचार्ज गरेको आरोप बरबरियाको छ ।
उनले भने, –“शान्तीपूर्ण तवरले बजार बन्द गर्न आग्रह गर्दै हामी जनकपुरको विभिन्न चोकमा घुमिरहेका थियौं । यहाँका व्यापारीहरुले पनि समन्वय गरेकै थियो । केन्द्रको निर्णय अनुसार एक दिन बन्द गरिदिन र बन्दको पालना गरिदिन आग्रह सहित पसलहरु बन्द गराउँदै थियो । त्यतिकैमा एउटा भ्यान बीचमा आएपछि आजको दिन नचलाउन आग्रह मात्र गरेका थियौं की प्रहरीले अचानक प्रदर्शनकारीहरुलाई लछारपछार गर्न थाल्यो ।”
प्रहरीले माथिल्लो निकायको आदेश अनुसार, केपी ओलीको ठाडो निर्देशनमा निहत्था प्रदर्शनकारीहरु माथि लाठी बर्साएर घाईते बनाएको बताएका छन् । “प्रहरीले प्रदर्शकारीको पछाडीबाट आएर अन्धाधुन लाठी चार्ज गरेपछि नेकपाका कार्यकर्ताहरुले समेत घम्साघम्सी गरेको थियो । अनि झडप भयो ।”– उनले भने ।
सरकारले असंवैधानिक तवरले गरेको विभिन्न आयोगको नियुक्तिको विरोध सहित सरकारले गरिरहेको गलत कार्यको विरोध गरी उनलाई गलतीको महसुस गराउन तथा गलती सुधार गर्न आफूहरु प्रदर्शन गरेको बताउँदै उनले सरकारले यसपनि हस्तक्षेप गरी सुनुयोजित तरिकाले लाठी बर्साउन लगाएको आरोप लगाए ।
मेयर समेत रहेका बरबरियाले नेकपा धनुषाका २२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको बताए । प्रहरीको लाठीचार्जबाट नेता रामचन्द्र झाको टाउको फुटाएको छ । पक्राउ परेका कार्यकर्ताहरुलाई प्रहरीले अझै रिहा नगरेको उनले बताए ।
झडपको क्रममा प्रहरीको पनि दुई जवान घाईते भएका छन् । सबै जनाको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…