प्रचण्डको ताण्डव सुरुः बन्दमा चलाएको भन्दै सडकमै जलाइए ट्याक्सी !
मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको थियो।

२०७७ माघ २२ बिहीबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । प्रचण्ड–माधवनेपाल समूहले आज (बिहिबार) घोषणा गरेको बन्द हडतालको क्रममा ट्याक्सी चलाएको भन्दै बीच सडकमै आगजनी गरेर जलाइदिएको छ ।
सरकार विरुद्ध आन्दोलनमा उत्रेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले एकाबिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरीका अनुसार परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए ।
परिसर प्रहरी प्रमुख अशोक सिंहका अनुसार, प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो । आगजनीबाट ट्याक्सी पूर्णरुपमा ध्वस्त बनेको छ ।
बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट पक्राउ समेत गरेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन्, “आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।”
प्रचण्ड–माधव पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ ।
मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको थियो।
बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। भने फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
काठमान्डौं बाहेक तराईका जिल्लाहरुमा समेत प्रचण्डको बन्दको असर परेपनि पूर्ण रुपमा भने असर नपरेको देखिएको छ । काठमान्डौं लगायत पहाडी क्षेत्रमा प्रचण्डको आम हडतालको असर पूर्ण रुपमा परेको देखिएको छ ।
अन्नपूर्णपोष्टको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…