प्रदेश २ः विद्यार्थीहरुद्धारा नगरपालिकाको कार्यालयमा तोडफोड, प्रहरीले गरे लाठीचार्ज
उक्त कार नगरपालिकाका प्रशासन फाँट प्रमुख कमलप्रसाद पौडेलको हो ।

२०७७ माघ १७ शनिबार, बिहान ११:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश २ को सर्लाही स्थित रहेको चक्रजनता सहिद गंगा मावि बरहथवाका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
विद्यालयमा नियमित अध्यापन नभएको, डेस्कबेञ्च लगायत भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिईएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले नगरपालिका कार्यालयमा ढुंगामुढा सहित तोडफोड गरेका हुन् ।
विद्यार्थी समूहको आक्रमणबाट कार्यालयको झ्यालको सिसा, ढोका, बाहिर राखेको दराज, गमलाहरु लगायतमा क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भूजेलले जानकारी दिए ।
त्यस्तै नगरपालिका काार्यलय भित्रै रहेको बा. २ च ९३३७ नम्बरको कार पनि तोडफोड गरेका छन् । उक्त कार नगरपालिकाका प्रशासन फाँट प्रमुख कमलप्रसाद पौडेलको हो ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर रायलाई पटक–पटक माग राखेपनि पूरा नभएको र वडाध्यक्ष संजय गुप्तालाई समेत जानकारी गराउँदा समेत मागका विषयमा कुनै सुनवाई नभएपछि आफूहरु आक्रोशित भएको कक्षा ११ मा अध्ययनरत विवेक गुप्ताले बताए ।
विद्यार्थीहरुले शैक्षिक भ्रमणका लागि समेत विद्यालय व्यवस्थापनसँग १ लाख २० हजार रुपैंया माग गरेका थिए । वडाध्यक्ष गुप्ताले ६० हजार रुपैंया मात्र दिने बताएपछि विद्यार्थीहरु थप आक्रोशित भएको बताईएको छ । विद्यालयका प्रअ रायले आफूहरुलाई कुटाउने धम्की समेत दिएको विद्यार्थी गुप्ताले बताए ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाँटले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि विद्यार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…