अब नेताका लागि होइन, आफ्नै लागि 'ब्यालेट आन्दोलन' गर्नुहोस् : डा. सिके राउत
मधेशी जनताको लागि लडिरहेको बताएर ठग्दै आएका जनताको लागि नभई कुर्सीका लागि लालायित रहेकोे उनले टिप्पणी गरे । मधेशको कहिल्यै भलो नसोचेका डा. बाबुराम भट्टराईसँग मधेशी नेताले हात मिलाउनुको कारण पनि यही रहेको उनको दावी छ ।

२०७७ माघ ५ सोमबार, राति ९:१७ बजे२ मिनेट पढाइ

बिनय यादव, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशी जनता अझै गम्भीर नबने मधेशसँग गद्दारी हुने बताएका छन् ।
१४औं बलिदानी दिवसको अवसरमा सोमबार जनमत पार्टीद्वारा लहानमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै डा. राउतले यस्तो बताएका हुन् । उनले मधेशी जनता पटकपटक नेताहरूबाट ठगिएपनि सचेत नहुनु दु:खद रहेको बताए ।
अब मधेशको रुपान्तरण जरुरी रहेको भन्दै उनले मधेशमा जनता राज कायम गर्न र बेरोजगारी अन्त्य गर्न मधेशले ब्यालेट आन्दोलन गर्नैपर्ने उनले औल्याए । 'थुप्रा आन्दोलनहरु भए, तर ती सबै आन्दोलनलाई भजाएर नेताहरु मात्रै मोटाए,' उनले भने, 'अब महाआन्दोलन हुनुपर्छ, अब आफ्नै लागि ब्यालेट आन्दोलन गर्नुहोस् ।'
मधेश आन्दोलनको १४ वर्ष भएपनि शहीदहरुको सपना पुरा हुन नसकेको भन्दै उनले गद्दार, बेइमान र ठग नेताहरुलाई तह नलगाई नहुने बताए । मधेशीहरुले सर्पलाई दुध पिलाइरहेको भन्दै उनले कांग्रेस, नेकपा र जसपाका नेताहरूको सर्पसँग तुलना गरे ।
'सर्पलाई जतिपटक दुध पिलाएपनि त्यो डस्ने नै हो,' उनले भने, 'त्यसैले अब यी सर्पलाई नचाएर फाल्नै पर्छ ।' उनले मधेश आन्दोलनको बलमा नेता बनेकाहरु मधेश आन्दोलन र शहीदलाई बर्सिदिएको आरोप पनि लगाए ।
अहिले आन्दोलनको नाममा मधेशीलाई हत्या गराउन काठमाडौंबाट नेताहरु मधेश आएको भन्दै डा. राउतले आलोचना पनि गरे । '३ वर्षदेखि यिनीहरु काठमाडौंमा लुकेर बसेका थिए । जब मधेशीहरु समस्यामा थिए, तब यिनीहरुलाई मधेशको याद आएन । तर, आज सत्ता हातबाट फुत्किएपछि पुनः मधेश याद आएको छ ।' सत्ताबाट बाहिरिएपछि पुनः मधेशमा सहिद बनाउनेहरु घुमिरहेको उनले बताए ।
डा. राउतले शहीदको सपना पुरा गर्न गएकाहरु मन्त्री भएर मधेशीमाथि नै दमन गरिरहेको टिप्पणी पनि गरे । '१४ वर्ष भयो तर शहीदको सपना पुरा भएको छैन । आज उनीहरु मन्त्री भएर मधेशीमाथि नै दमन शोसन गराउँदैछन्,' डा. राउतले भने, 'राममनोहर यादवको हत्या गराउने त्यही उपेन्द्र यादव हो । मधेशीलाई धोका दिने अरु कोही होइन मधेशी नेताहरु नै हुन् ।'
मधेशी नेताहरूको गद्दारीले मधेशको दुर्दशा भएको उनको भनाइ छ । मधेशीले अधिकार माग्न थाले त्यसपछि कांग्रेसले मधेशीको हत्या गराउन थाले । त्यसपछि सब सुर्य छाप बने,' उनले भने, 'आम बुझेर हामीलाई उनीहरुले हेप्यो, आँप झर्दैमा केही हुँदैन भनेर मधेशीलाई नेकपाले हेप्यो, मधेशीसँग लभ परेको भन्दै प्रचण्डले आफुसँग सुत्न भन्छन् र राति भएपछि टोक्छ, काठमाडौंमा रहेका केही अजगर साप पनि छन्, जो काठमाडौंमा बसेर मधेशी शहीदको विक्री गर्छन् । उनीहरु कुर्सीमा बसेर ठेक्कापट्टा गर्छ ।’
गजेन्द्र बाबु (गजेन्द्रनारायण सिंह)ले आफ्नो हातमा लिएर केही व्यक्तिलाई नेता बनाएको तर, त्यही व्यक्तिहरुले सदभावनालाई समाप्त पारेको डा. राउतले बताए ।
मधेशी जनताको लागि लडिरहेको बताएर ठग्दै आएका जनताको लागि नभई कुर्सीका लागि लालायित रहेकोे उनले टिप्पणी गरे । मधेशको कहिल्यै भलो नसोचेका डा. बाबुराम भट्टराईसँग मधेशी नेताले हात मिलाउनुको कारण पनि यही रहेको उनको दावी छ ।
डा. राउतले चुनाव जहिल्यै भएपनि तयारी अवस्थामा आफ्ना नेता कार्यकर्तालाई निर्देशन पनि दिए । कार्यक्रम विभिन्न स्थानबाट दशौं हजार नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…