झुटा र भष्मासुरको अर्को नाम 'केपी ओली' : माधव नेपाल
नेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।

२०७७ पुस २५ शनिबार, बेलुकी ५:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो,, सिरहा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नेतृत्वमा समाजवाद नआउने बताएका छन् ।
सिरहाको कर्जन्हा बस्तीपुरस्थित शनिबार आयोजित किसान नेता जयगोविन्द साहको ३०औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ओली सधैं पुँजीवादको बाटोमा हिँडेका र कम्युनिष्ट आदर्शलाई बिर्सिसकेको भन्दै उनले ओलीबाट समाजवादको अपेक्षा नगरे पनि हुने बताए ।
केपी ओलीमा देश र जनताको माया रत्तिभर नरहेको अध्यक्ष नेपालको आरोप छ । ओलीमा अहंकार, सामन्तवाद र व्यक्तिवाद हावी भएको भन्दै उनले भने, ‘देश र जनताको माया भएको भए ओलीले संसद भंग गर्ने थिएन, काम गर्थे, जे मन लाग्यो त्यही गरिदिने, जनताका सवालप्रति चिन्तित नहुने, उनी जनताका नेता होइनन् ।’
आफूहरुले ओलीलाई सुधार्न अनेक प्रयास गरेपनि नसुध्रेको र प्रधानमन्त्री बनाएर गलती भएको उनले बताए । ‘ओलीलाई सुधार्न हामीले अनेक प्रयास गर्यौं,’ उनले भने, ‘तर, पात्र जन्मेपछि काम बन्छ, कुपात्र जन्मेपछि बिग्रन्छ, यहाँ यस्तै भयो ।’
झुटा र भष्मासुरको अर्को नाम केपी ओली भएको टिप्पनी पनि उनले गरे । ओलीलाई पार्टीबाट कारवाही गरिसकेको र चाँडै प्रधानमन्त्रीबाट पनि हटाइएको समाचार आउने उनको दावी छ । ‘आफूलाई सर्वोपरी ठान्ने ट्रम्प गए,’ उनले भने, ‘आफूलाई आफ्नै मनले प्रधानमन्त्री ठानिरहेका ओलीको दिन पनि चाँडै आउँदैछ ।’
नेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।
यस्तै, प्रचण्ड–माधव समूहका नेता तथा निवर्तमान शिक्षामन्त्री गिरीराज मणि पोखरेलले केपी ओलीले आफू काम गर्न नसकेर दोष अरुमाथि थुपारेको बताए । ओलीले कम्युनिष्ट आन्दोलन र जनतासँग घात गरेको आरोप पनि उनले लगाए ।
जयगोविन्द साहको लामो जीवनी सुनाउँदै उनले जयगोविन्द जस्ता महान आदर्श व्यक्तित्वहरुबाट सबैले पाठ र प्रेरणा लिनुपर्ने पनि औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…