जनकपुरमा आज धनुषयज्ञ, भगवान रामले शिवधनुष तोडने
यसपाली सीमा बन्द भएका कारण अयोध्याबाट आउने भनिएको जन्ती नआएपछि विधि विधानको लागि राम मन्दिरबाट केही साधुसन्तहरु भने सहभागी हुने बुझिएको छ ।

२०७७ पुस १ बुधबार, बिहान ९:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन भएको छ भने आज तेस्रो दिन (बुधबार) धनुषयज्ञ (Dhanush Yagya) हुने भएको छ ।
सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । मँगलबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा सम्पन्न भएको छ । बुधबार धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । धनुषयज्ञ भने बाह्रविघा रंगभूमि मैदानमा हुने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले न्यूज ब्यूरोसँग भने ।
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अपरान्ह करिब ४ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ । यसपाली कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल भारतको सीमा बन्द गरिएको कारण अयोध्या सहित भारतको विभिन्न स्थानबाट आउने श्रद्धालुहरुको सँख्यामा कमि आउने बताए ।
पहिले पहिले अयोध्याबाट जन्ती आउँदा हात्ति, घोडा, उँट चढेर हजारौँ हजारको सँख्यामा जन्ती तथा श्रद्धालुहरु आउने गर्दथ्यो । वितग केही वर्षदेखि देशको राजनीतिक अस्थिरता र सुरक्षाको दृष्टीकोणले पनि श्रद्धालु कम आएको देखिएपछि गत वर्ष मात्र पुनः पौराणिक समयझैं मोटो सँख्यामा अयोध्याबाट जन्ती आएको थियो ।
यसपाली सीमा बन्द भएका कारण अयोध्याबाट आउने भनिएको जन्ती नआएपछि विधि विधानको लागि राम मन्दिरबाट केही साधुसन्तहरु भने सहभागी हुने बुझिएको छ ।
आज दिउँसो देखि सुरु हुने धनुष यज्ञमा मोटो सँख्यामा श्रद्धालुहरु सहभागी हुने छ । कोरोनाको महामारी भनिएपनि सरकारले लकडाउन खोलेसँगै श्रद्धालुहरुको सँख्यामा भने कमी नभएको देखिएको छ ।
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन , दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन पुस ४ गते राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
रामजानकी विवाहमहोत्सव त्रेता युगमा भगवान रामजानकीको विवाह भएको संस्मरणमा मनाईदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…