फरक क्षमताका व्यक्ति स्थानीय सरकारको जिम्मेवारीः उपाध्यक्ष कार्की
पोषण सँयोजक भरत चौधरीले स्वागत मनतव्य राखेका थिए कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाबाट करिब २०० जनाको उपस्थिति रहेको थियो ।

२०७७ मंसिर १८ बिहीबार, राति ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । २९ औं अपाँगता दिवसको अवसरमा धनुषाको जनकनन्दिनी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गरी मनाएको छ ।
बिहिबार बिहान जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित एक कार्यक्रमको आयोजना गरी २९ औं अपाँगता दिवसको अवसरमा फरक क्षमता भएका व्यक्तिहरुलाई दोसल्ला ओेढाएर सम्मान गरिएको हो ।
गाउँपालिकाकी उप–प्रमुख भारती कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुमध्ये अति अपाँगता भएकाहरुलाई व्हीलचेयर समेत वितरण गरिएको हो ।

सो कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै उपाध्यक्ष कार्कीले फरक क्षमता भएका व्यक्तिहरु पनि स्थानीय सरकारको जिम्मेवारी रहेको बताइन् । उनले स्थानीय सरकार गठनपछि छेउमै सरकारको अनूभूति उनीहरुलाई गराउनको लागि स्थानीय जनप्रतिनीधिले पहलकदमी गर्नुपर्नेप्रति जोड दिइन् ।
“कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि सवैको प्रतिवद्वता” राष्ट्रिय नाराका साथ जनकनन्दिनी गाउँपालिकाले विश्व अपाँगता दिवस मनाएको हो ।
सो क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले फरक क्षमता भएका व्यक्तिहरु पनि मानव भएको भन्दै उनीहरुसँग पनि मानववत् व्यवहार गर्न सबैसँग आग्रह गरे । उनले विभिन्न समयमा फरक क्षमता भएका व्यक्तिहरुलाई हेप्ने, गाली गलौज गर्ने, उसको क्षमतालाई केन्द्रीत गरी जिस्काउने जस्ता क्रियाकलापलाई परास्त गर्न सके सही मायनेमा दिवस मनाएको महसुस हुने बताए ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष धर्मेन्द्र कुमार गोईतले अपाँगता भएका व्यक्तिहरुको लागि स्थानीय जनप्रतिनीधि र राष्ट्रसेवक कर्मचारीहरु समेत प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । उनले उनीहरुको दिगो स्याहारको लागि फरकधारबाट योजना ल्याउनुपर्न बताए ।

कार्यक्रममा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डलले गाउँस्तरमा फरक क्षमता भएका व्यक्तिहरुको पहुँच अझै सहज नभएको औल्याउँदै उनीहरुको पहुँच स्थानीय तहको हरेक तह तप्कामा सहज बनाउनुपर्नेप्रति जोड दिए ।
सो क्रममा वडा नम्बर १ का वडाध्यक्ष धर्मेन्द्र कुमार गोईत, वडा नं. ४ का वडाध्यक्ष हरिशचन्द्र कामत केवट, वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल, वडा नं. ६ का वडाध्यक्ष विक्रम यादव सहितले आ आफ्नो मनतव्य राखेका थिए ।
पोषण सँयोजक भरत चौधरीले स्वागत मनतव्य राखेका थिए कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाबाट करिब २०० जनाको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…