आरके मेडिसिटीमा रोकिएन बिरामी मार्ने शृंखला, फेरि एकको मृत्यु, पत्रकारलाई मनाही !
मृतकको शव अहिले अस्पतालमै छ । अस्पतालले शव लैजान पटकपटक दबाब दिएपनि परिवारजनले मानेका छैनन् । अस्पतालले क्षतिपूर्ति दिनुपर्ने र अस्पताललाई कारवाही हुनुपर्ने परिवारजनको माग छ ।

२०७७ मंसिर १७ बुधबार, बिहान १०:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मुसहर्नियाँस्थित आरके मेडिसिटीमा अस्पतालको लापरवाहीले फेरि एकजना बिरामीको ज्यान गएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका-१ बनिनियाँकी अन्दाजी ४५ वर्षीया रामपरी देवी मण्डलको आज बिहान उपचारको क्रममा ज्यान गएको हो । उनी आइसीयू कक्षमै दम तोडेको परिवारजनले बताएका छन् । मंगलबार दिउँसो पखाला जस्तो देखिएपछि रामपरीलाई स्थानीय अस्पतालमा लगियो । तर, पखाला नरोकिएपछि मंगलबारै बेलुकी ६ बजेतिर उनलाई आरके मेडिसिटीमा ल्याइयो ।
त्यहाँका चिकित्सकले अवस्था जटिल भन्दै आइसीयूमा भर्ना गरेर उनको उपचार सुरु गर्यो । तर, बुधबार राती साढे १२ बजेपछि आइसीयू कक्षबाट गायब भएको चिकित्सक बिहान सबा ४ बजे मात्रै आइसीयू पसेको बिरामीका आफन्त विष्णुदेव मण्डलले सुनाए । यहाँको डाक्टरले सो अवधिमा कतै बाहिर लानुपर्ने कुरा पनि नभनेको र एकैचोटि बिहान आएका डाक्टरले बिरामीको मृत्यु बारे जानकारी दिएको उनले बताए । 'आइसीयूमा बिरामीको चौबीसै घण्टा केयर हुनुपर्छ,' उनले भने, 'म पटकपटक आइसीयू कक्ष ढकढक्याए, तर कोहि थिएनन्, डाक्टरको लापरबाहीले गर्दा मेरो बिरामी दम तोड्यो ।'
मृतकको शव अहिले अस्पतालमै छ । अस्पतालले शव लैजान पटकपटक दबाब दिएपनि परिवारजनले मानेका छैनन् । अस्पतालले क्षतिपूर्ति दिनुपर्ने र अस्पताललाई कारवाही हुनुपर्ने परिवारजनको माग छ ।
यता, अस्पतालका चिकित्सकले भने बिरामीको अवस्था एकदमै नाजुक रहेका कारण बचाउन नसकिएको बताए । मृतकका आफन्तको दाबी र आरोपमा सत्यता नभएको अस्पतालको दाबी छ । पत्रकारलाई मनाही बिरामीको मृत्यु घटनाबारे स्थलगत बुझ्न अस्पताल गएका सञ्चारकर्मीहरुसँग अस्पतालका मान्छेहरुले रवाफ देखाउँदै पटकपटक तम्सिन खोजे ।
पत्रकारहरुले आफूहरु यहाँ झगडा गर्न नआएको र घटनाबारे बुझ्न तथा प्रतिक्रिया लिन मात्रै आएको बताइरहे पनि उनीहरूले समाचारले केहि फरक नपर्ने भन्दै आक्रामक शैलीमा प्रस्तुत भए । अस्पताल व्यवस्थापन पक्षका एक जनाले भिडियो लिइरहेका पत्रकारको मोबाइल पनि एकछिन खोसेका थिए ।
आरके मेडिसिटीमा पटकपटक अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु हुँदै आएको छ । तर, सरोकारवाला निकाय भने मौन देखिन्छन् । कुनै घटनामा पीडित परिवारले न्याय पाएको देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…