प्रदेश २ः 'राम' को अगाडी 'श्री' लगाउन वडाध्यक्षले मागे पैसा, नदिएपछि निर्घात कुटिए युवक
वडाध्यक्ष साहलाई आक्रोसमा 'कसरी सिफारिस नगर्ने ? म पनि हेरुला' मात्र भनेको

२०७७ मंसिर १० बुधबार, बेलुकी ७:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सर्लाही जिल्लामा एक युवकलाई जनप्रतिनीधिको आफन्तजनले निर्घात कुटपिट गरेको आरोप लगाईएको छ ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ३ नारायणपुर बस्ने अन्दाजी बर्ष ४० का सत्रोहन साहलाई वडा नम्बर ३ का वडाध्यक्ष भिखारी साहका छोरा, भाई, भतिज सबै जना मिलेर निर्घात कुटपिट गर्दा अस्पतालमा भर्ना भएको बताएका छन् ।
उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल आएका पीडित साहले आफूले फर्म दर्ताको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष साहले उनीसँग पैसा मागेका थिए । वडाध्यक्ष साहले पैसा दिए मात्र काम गरिदिने बताएपछि पैसा के को लागि दिने भनेर आक्रोसित भएका पीडित साहलाई उनका परिवारजनले निर्घात कुटपिट गरेपछि अस्पताल भर्ना भएको आरोप लगाएका छन् ।
पीडितका अनुसार वडाध्यक्षको तर्फबाट जगदिश साह, विकास साह, सँतोष साह, अमित साह र कुन्दन साहले उनलाई बीच सडकै कुटपिट गरेको आरोप लगाएका छन् । धान लिएर मिलमा जाने बेलामा सडकमा उभिएको बेला उनलाई एक्कासी पछाडीबाट आएर हेल्मेट, मुक्का, लात्त, ईटले प्रहार गरेको जनाइएको छ ।
पीडित साहले दर्ता गराएको श्रीराम पोल्ट्रीफार्म र मनिट्रान्सफरमा भूलवंश श्रीराम हुनुपर्नेमा मात्र राम भएपछि श्री थप्नको लागि सिफारिस लिन वडाध्यक्ष भिखारी साह कहाँ पुगेका थिए । यसअघि सहजै सिफारिस दिएका वडाध्यक्षले 'राम' को अगाडी 'श्री' थप्न गरिने सिफारिसको लागि रकम माग गरेका थिए ।
वडाध्यक्ष साहलाई उदृत गर्दै पीडितले पैसा दिए त्यतिकै हस्ताक्षर गरिदिने तथा नदिए धेरै ठाउँबाट मुचुल्का उठाउने जस्ता शब्दभार दिएर उल्झाउन खोजेपछि पीडित आक्रोसित भएका थिए । उनले वडाध्यक्ष साहलाई आक्रोसमा 'कसरी सिफारिस नगर्ने ? म पनि हेरुला' मात्र भनेको बताएका छन् । त्यसपछि उनका आफन्तजनले कुटपिट गरेको आरोप लगाएका हुन् ।
उनको टाउको, अनुहार, काँध, ओठ र दाँतमा चोट लागेको छ । सिटी गराएका साहले हेल्मेटले प्रहार गर्दा टाउको चक्कर आएको महसुस भइरहेको बताए ।
यता, वडाध्यक्ष भिखारी साहसँग 9854035855 नम्बर मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…