आज तराई-मधेशमा लक्ष्मीपूजा (Diwali) धुमधामका साथ मनाउँदै
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ

२०७७ कार्तिक २९ शनिबार, बिहान ७:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा शनिबार (आज) लक्ष्मीपूजा अर्थात दिपावली धुमधामका मनाउँदैछ ।
जनकपुर लगायत मधेशको विभिन्न जिल्लाहरुमा विधिपूर्वक लक्ष्मीपूजनको तयारी गरिएको छ । साँझदेखि सुरु हुने लक्ष्मीपूजा दिपको बली दिएर दिपावली मनाउने गरिन्छ । आज तराई मधेश जगमग र झिलीमिली हुने भएको छ ।
यमपञ्चकको तेस्रो दिन शनिबार कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँउने परम्परा छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
लक्ष्मीपूजामा विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ। दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाई छ ।
आज कुकुर तिहार मनाइँदै
यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…