रामनवमीदेखि नियमित रेल सँचालनको तयारी
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा

२०७७ कार्तिक २४ सोमबार, बिहान ८:०२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो राम नवमीदेखि जनकपुर जयनगर रेल्वे नियमित सँचालनको तयारी उपर छलफल जारी छ ।
गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको भट्टराईले जानकारी दिए ।
सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक भट्टराईले बताए। तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उनको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उनले जानकारी दिए ।
रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएकामा लोक सेवा आयोगले ठूलो सङ्ख्यामा करारमा नियुक्ति गर्दा पछि समस्या आउन सक्ने बताएपछि अब स्थायी नियुक्ति गर्ने योजना बनाइएको महाप्रबन्धक भट्टराईले बताए ।
लोक सेवाको प्रक्रियाबाट पदपूर्ति गर्दा केही महिना लाग्न सक्ने भएकाले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारमा कर्मचारी पठाउने भएको उनले जानकारी दिए ।
रेल सञ्चालनका लागि प्राविधिक, प्रशासन, कानूनलगायत समूहबाट झण्डै डेढ सय कर्मचारी आवश्यक रहेको बताइएको छ । रेल चलाउन दक्ष जनशक्ति भने भारतीय हुनेछन् । कम्पनीले रेल सञ्चालनका लागि २६ जना प्राविधिक कर्मचारी भारतीय ल्याउन रेल निर्माण गरेको सरकारी कम्पनी कोनकान कम्पनीसँग कुराकानी भइरहेको बुझिएको छ । कम्पनीले रेल पठाउँदादेखि नै आवश्यक जनशक्ति पठाउने तयारी गरेको थियो ।
अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनको समेत अभाव छ । रेल्वेसम्बन्धी ऐन २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा पेश हुँदैछ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापरीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो ।
अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…