ट्राफिक प्रहरी नहुँदा धनुषाको हुलाकी सडकमा सवारी दुर्घटना बढयो
गाउँमा पनि अत्यधिक गतिमा मोटरसाईकल गुडाउने गरेको कारण दिनहुँ झै दुर्घटना

२०७७ कार्तिक १५ शनिबार, बिहान ८:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि धनुषाको कमला नदीसम्म निर्माणधीन रहेको हुलाकी सडकमा दिनहुँ सवारी दुर्घटना बढदै गएको छ ।
निर्माणधीन रहेको हुलाकी सडकमा अधिकाश भन्दा बढीमा कालोपत्रे भएपछि यहाँ ट्राफिक प्रहरीको उपस्थिति नहुँदा दुर्घटना बढदै गएको छ । प्रहरी नहुँदा बिना हेल्मेटको तीव्र गतिमा मोटरसाईकल चलाउने, नम्बर प्लेट परिवर्तन गरी मोटरसाईकल चलाउने, नम्बर प्लेट नै नभएको मोटरसाईकलहरुको दुर्घटना बढदै गएको छ ।
सडक कालोपत्रे भएको केही दिनभित्रै दर्जन भन्दा बढी सवारी दुर्घटनामा परी आधा दर्जनभन्दा बढी जनाले ज्यान गुमाएको तथ्याँक छ भने कैयौं जना गम्भिर घाईते भएर अझै अस्पतालमा उपचाररत रहेका छन् ।
गत असोजमै हुलाकी सडकको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा बालबालिका समेत गरी कैयौं जना घाईते भएको खवर विभिन्न सँचारमाध्यमहरुद्धारा प्रकाशन प्रकाशित भएको थियो । सडकको छेउमा राखिएको स साना गिट्टीले गर्दा थोरै स्पीडमा पनि सवारी दुर्घटना हुने गरेको छ ।
यसका साथै, धनुषाको पूर्वी भेक विदेह नगरपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका क्षेत्रमा ट्राफिक नियम सहित सुरक्षा सर्तकताको अभावमा दिनहुँ झै दुर्घटना बढेको हो ।
“तपाई यहाँ बसेर हेर्नुस, एक जनाले पनि हेल्मेट लगाएको भेटाउनुहुन्न । त्यसमाथि एउटा मोटरसाईकलमा ३ देखि ४ जनासम्म अटाएर तीव्र गतिमा मोटरसाईकल गुडाउँछन् अनि कतै गएर ठोक्छन् । झन बजार र मेलाको दिन मोटरसाईकलको नम्बर प्लेट नै खोलेर हावा जस्तो मोटरसाईकल उडाउँछन् र मान्छेलाई पनि उडाएकै हो ।”– स्थानीय हरि नारायण यादवले बताए ।
यहाँका युवाहरुले यस भेकमा ट्राफिक नै नभएकोले मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी लगाएको, नम्बर प्लेट नै हटाएर पनि मोटरसाईकल चलाएको देखिएको छ । गत कार्तिक ८ गते मात्र कमला नगरपालिका वडा नं. २ माचि टोलमा एक जनालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको थियो । सो दिन ठक्कर दिने मोटरसाईकल अधिक गतिमा रहेको र चालकले हेलमेट नलगाएको कारण पनि आज अस्पतालमा जीवन र मृत्यूसँग जुधिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
गाउँ भएर गएको हुलाकी सडकमा गाउँ स्तरमा बालबालिकाहरु समेत बाटो काट्ने क्रममा दुर्घटनामा पर्दै आएको छ । गाउँमा पनि अत्यधिक गतिमा मोटरसाईकल गुडाउने गरेको कारण दिनहुँ झै दुर्घटना हुँदै आएको छ ।
यता, सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्स्पेक्टर हृयेन्द्र रोकायाले जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक मगाउने प्रयास गर्ने प्रतिक्रिया दिए । उनले पनि ट्राफिक प्रहरीको अनुपस्थितिका कारण दुर्घटना र अपराधिक क्रियाकलाप बढेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने जनशक्तिको अभाव देखाउँदै जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक चेकिँग सो क्षेत्रमा पठाउने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…