जनकपुरः धान खेतमा ३०० लाईसेन्स फेला, दलालको कब्जामा 'यातायात अफिस'
दलालहरुले अहिले यातायात कार्यालयको हरेक गोप्य, सरकारी फाईलदेखि लिएर जिन्सी समानसम्ममा पहुँच बनाएका

२०७७ कार्तिक १३ बिहीबार, दिउँसो ३:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात कार्यालय जनकपुरको कार्यालय नजिकै रहेको धान खेतमा ३०० लाईसेन्स फेला परेको छ ।
यातायात कार्यालयमा सेवाग्राही जाँदा आएको लाईसेन्स पनि नदिने कार्यालय कर्मचारीहरुको मिलोमत्तोमै ३०० लाईसेन्स दलालहरुले बाहिर लगेर फालेको हुन सक्ने अनुमान गरिएको छ । जनकपुर यातायात कार्यालयमा दलालहरुको हुकुमत (दादागिरी) चल्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको यातायात कार्यालय जनकपुरको चरम लापरवाहीका कारण कार्यालयबाट उठाएर धान खेतमा फालिएको अवस्थामा विभिन्न क्याटेगोरीको लाईसेन्स फेला परेको हो ।
कार्यालयदेखि झण्डै मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फालिएको ३०० लाइसेन्स देखेपछि उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई जिम्मा लगाएको छ ।
बुधबार दिउँसो धान काट्न गएको समयमा एक खेतमा जताततै मोटरसाईकलको लाईसेन्स फालिएको अवस्थामा देखेको थियो । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।
यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए । कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।
केही बर्ष अघि जिल्ला प्रशासन कार्यालय धनुषाको फाईलमा सहज पहुँच बनाएका दलालहरुले अहिले यातायात कार्यालयको हरेक गोप्य, सरकारी फाईलदेखि लिएर जिन्सी समानसम्ममा पहुँच बनाएका छन् । सानो कार्यको लागि पनि दलालको मार्फत कर्मचारीहरुले कमिशन लिएर काम गर्ने गरिएको देखिएको छ ।
केही महिनाअघि लाईसेन्स बनाईदिने भनेर विभिन्न व्यक्तिबाट रकम उठाएका २ जना दलाललाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न समयमा जनकपुर यातायात कार्यालयमा दलालको बिगबिगी र दादागिरीको समाचारहरु आईरहन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…