सिरहाका बोर्डिङग स्कुलहरु अझै भएन बन्द, सरकारी निर्देशनको खिल्ली
निजी विद्यालयहरुले निर्णय भएको ५ दिन बितिसक्दा पनि त्यसको पालना नगरी अटेरी गर्दा थप जोखिम बढाउने खतरा

२०७७ असोज २३ शुक्रबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका निजी विद्यालय (बोर्डिङग स्कूल) हरुले सरकारी निर्देशनको बेवास्ता गरेको छ ।
जिल्लाको विपद् व्यवस्थापन समितिले तत्काल भौतिक उपस्थिति नगराई वैकल्पिक शिक्षण प्रणालीबाट पठनपाठन गर्न निर्देशन दिएपनि त्यसको बेवास्ता गर्दै अझै पठनपाठन रोकिएको छैन ।
केहि साना विद्यालयहरुले पठनपाठन तत्काल स्थगित गरेको भएपनि ठूला विद्यालय भने सञ्चालनमै रहेको पाइएको छ । विद्यालयहरुले प्रशासनलाई छल्दै विद्यार्थीलाई विना पोशाक बोलाएर पठनपाठन गराइरहेको देखिएको छ ।
केहि दिन अगाडि जिल्लाका विभिन्न स्थानीय तहहरुले सुरक्षा मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्न भनी निर्णय गरेको थियो । तर, स्थानीय तहहरुले विद्यालयको प्रभावमा परी यस्तो निर्णय गरेको र विद्यालयले अभिभावकसँग पैसा असुल्ने मनसायले विद्यालय सञ्चालन गरेको भन्दै आलोचना भएको थियो ।
त्यसलगत्तै जिल्लाको विपद् व्यवस्थापन समितिको सोमबारको बैठकले मंगलबारदेखि लागू हुनेगरी तत्कालको अवस्थामा विद्यार्थीलाई विद्यालयमा उपस्थिति नगराई वैकल्पिक प्रणालीबाट पठनपाठन गर्न निर्देशन दिएको थियो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा विद्यालय सञ्चालन हुँदा खतरा हुनेसक्ने भन्दै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले पनि यही निर्णय गर्यो ।
तर, सरकारी निर्देशनको बेवास्ता गर्दै कक्षा सञ्चालन नै राखेका विद्यालयहरुमा प्रहरी नामको लागि पुगेपनि विद्यालय बन्द गराउन सकेको छैन ।
निजी विद्यालयहरुले निर्णय भएको ५ दिन बितिसक्दा पनि त्यसको पालना नगरी अटेरी गर्दा थप जोखिम बढाउने खतरा देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…