जनकपुर: सिडिओ अफिस धनुषामा आलोपालो सिस्टम, शनिबार पनि खुल्ने
जनकपुरधाम उपमहानगरपालिका ठुलो जनघनत्व भएको आधारमा सातामा दुई दिन सेवा दिने

२०७७ असोज २२ बिहीबार, दिउँसो १:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ ।
यसअघि प्रदेश नं. २ मै सिरहामा सेवाग्राहीहरुको लागि सिन्डीकेट लागू गरिएको थियो भने विहिबारदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाको सिन्डीकेट अर्थात आलोपालो प्रणाली लागू गरिएको छ ।
दिनानुदिन कोरोनाको प्रभाव बढदै गएको तथा जिल्ला प्रशासन कार्यालय धनुषामा लकडाउन खुलेलगत्तै देखिएको भीडलाई मध्यनजर गर्दै आलोपालो प्रणाली लागू गरिएको हो । धनुषाका सिडिओ प्रेम प्रसाद भ्टटराईले एक सूचना जारी गर्दै धनुषाको १७ वटै स्थानीय तहको लागि दिन तोकेर सेवाग्राही आउन आग्रह गरेका छन् ।
जसको लागि प्रत्येक आईतबार धनुषाधाम नगरपालिका, हँसपुर नगरपालिका र विदेह नगरपालिकाको वासीन्दाहरु मात्र सिडिओ अफिसमा सेवा लिन पाउनेछन् । यी तीन नगरपालिकाका आम जनताले आईतबार बाहेक अन्य कुनै दिन सेवा पाउने छैनन् ।
सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाको पालो तोकिएको छ । प्रत्येक सोमबार यी तीन स्थानीय तहको जनताले मात्र सेवा पाउनेछन भने अन्य पालिकाको नागरिकले तोकिएको स्थानीय तह बाहेक सेवा नपाउने सिडिओ भट्टराईले जानकारी दिए ।

यस्तै, मँगलबार भने मिथिला बिहारी नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको पालो तोकिएको छ भने बुधबार जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका र लक्ष्मीनीयाँ गाउँपालिकाको पालो तोकिएको हो ।
जारी गरिएको सूचनमा बिहिबार भने जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टि मुसरनीया गाउँपालिकाको पालो तोकिएको हो । जनकपुरधाम उपमहानगरपालिका ठुलो जनघनत्व भएको आधारमा सातामा दुई दिन सेवा दिने भनिएको छ ।
शुक्रबारको दिन धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका र धनौजी गाउँपालिकाको पालो तोकिएको हो । प्रत्येक शुक्रबार यी ३ स्थानीय तहका बासिन्दाहरुले मात्र सेवा पाउने भएको छ ।
सिडिओ अफिसमा अत्यधिक रुपमा हुने गरेको भीडबाट कोरोना सर्ने प्रबल सम्भावना रहेको भन्दै सुरक्षाको दृष्टिकोणले सेवामा सिन्डीकेट लगाइएको छ । सेवा सिन्डीकेटलाई मध्यनजर गर्दै शनिबार पनि सेवा दिने निर्णय गरिएको हो ।
शनिबार भने क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिकाको पालो तोकिएको हो । तर, शनिबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालयमा सेवा दिइने सूचनामा उल्लेख गरिएको छ । शनिबार तोकिएको पालिकाहरुको लागि नागरिकता वितरण कार्य बाहेक अन्य सबै कार्य हुने जनाइएको छ । अन्य कार्यहरु आईतबारदेखि शुक्रबार हुने जनाइएको छ ।
यस्तै, जिल्ला प्रशासनमा सँघ सँस्था दर्ता तथा नविकरण आईतबार देखि बुधबारसम्म मात्र हुनेछ भने पत्रपत्रिका, छापाखाना सम्बन्धी कार्यहरु भने विहिबार र शुक्रबारको मात्र गरिने सूचनामा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…