प्रदेश २ः महिलाको कान काटेर हत्या !
सशस्त्र प्रहरीको कयाम्प रहेको स्थानबाट ३ सय मिटर उत्तर हत्याको घटना भएपछि स्थानिय बासिन्दा त्रसित

२०७७ असोज १२ सोमबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरीमा एक महिलाको कान समेत काटेर घाँटी थिची हत्या गरिएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ मयनाकडेरी बस्ने अन्दाजी ५० वर्षीय दायमन देवी यादवको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आइतबार बिहानै देखि आफन्तहरुले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय र ट्युबवेल नजिक घरको पानी खस्ने स्थानमा उनको मृत शरीर फेला परेको मृतकका देवर तेजनारायण यादवले जानकारी दिए ।
तेजनारायणका अनुसार हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् ।
घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने देवर तेजनारायणले आशंका गरे । हत्याराले कान काटेपनि कानमा लगाएको सुन शव रहेको स्थानमै भेटिएको उनले बताए ।
प्रहरीले शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरी उपरीक्षक धमलाले घटनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।
सशस्त्र प्रहरीको कयाम्प रहेको स्थानबाट ३ सय मिटर उत्तर हत्याको घटना भएपछि स्थानिय बासिन्दा त्रसित भएका छन् ।
महिलाका श्रीमान शिवनारायण कौडगिया यादव विराटनगरमा शिक्षण गर्छन् । एकजना छोरा नेपाल टेलिकममा कार्यरत छन् भने अर्का छोरा दिल्लीमा
अध्ययनरत छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…