रौतहटको सदरमुकाम सहित आसपासका क्षेत्र डुबानमा
पुलको छेउको ९० प्रतिशत सडकको भाग बढीले कटान गरिसकेको र अब १० प्रतिशत अर्थात एक देखि डेढ मीटरसम्म मात्रै बाटो कटान गर्न बाँकी

२०७७ असोज ९ शुक्रबार, बेलुकी ५:५० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । केही दिन देखि परेको अविरल बर्साको पानीले रौतहट अधिकांश पालिकाको जनजीवन अस्तब्यस्त बनेको छ ।
स्थानीयहरु एक पालिकाबाट अर्को पालिका जान जोखिम मोलिरहेका छन । रौतहटको सदरमुकाम समेत रहेका गौर नगरपालिका ठाउँ—ठाउँमा पानी जम्दा विभिन्न कार्यालयमा आएका सेवाग्राहीलाई सास्ती छ ।
गौरको अदालत, जिल्ला प्रसासन कार्यालय र भन्सार कार्यालय वरिपरि वर्षाको पानीले जलमग्न बनेको छ । गौर भन्सारको प्रहरी चौकी, शस्त्र प्रहरी क्याम्प भित्र पानी पसेको छ । दसगजा क्षेत्रको भत्किएको बाध भएर गौरमा पानी पस्ने क्रम जारी छ ।
सदरमुकाम पूर्वमा पर्ने लक्ष्मीपुर बेलबिछवा सहितको क्षेत्रहरु डुवानमा पर्ने संकेत देखापरेको छ । सबगढवा लच्कामा पानीको बहाब बढ्न थालेको छ । बर्खायाममा बाढीको सास्ती झेल्दै आएको गौर गौरबासी फेरि त्रास मै बस्न थालेका छन ।
स्थानीयहरुले घरका सामाग्रीहरु सुरक्षित स्थानमा सार्न थालेका छन। गौरको मुख्य रोडमा पानी जम्दा सवारी साधन फस्ने समस्या छ भने हाल ढलको फोहोर पानी नै सडकमा जमेपछि गौर बजार हिडने लायक नरहेको स्थानीयहरुको गुनासो छ । पालिकाले ढल निकासको बाताबरण बनाउन नसक्दा गौरबासी र सदरमुकाम धाउनेहरुलाई समस्या भएको स्थानीय कमलेश पटेलले बताए ।
उता गौर सदरमुकाम जोड्ने इशनाथ नगरपालिकाको विभिन्न सडकमा ओभर फ्लो भइ पानी बग्न थालेको छ । नगरपालिकाको बन्जरहा, औरैया गाउँ डुबानमा पर्ने खतरा छ । स्थानीयहरु आ—आफ्नो सर—सामाग्री र पशु चौपायालाइ सुरक्षित स्थानमा सार्न ब्यस्त छन ।
वरिपरिको भकुवा, अडुवा नदिमा पानीको बहाब उच्च छ।सदरमुकाम गौर र इशनाथ नपा जोड्ने सबभन्दा ठूलो नदि बकैयामा पानीको बहाब उच्च रहेको र पानीको बढेर टिकुलिया, बैरिया बाध छेउ आइसकेको बन्जरहाका स्थानीय दिलिप साहले बताए ।
पुल नबनेकोले लच्का र ढुङ्गाको साहारा बाट सदरमुकाम धाउने इशनाथ बासी अहिले बाढी र बर्खाको पानीले थप मारमा परेका छ्न । अब केही दिन सुरक्षित बस्नु पर्ने अर्को पिडा थपिएको छ । यसैगरि राजपुर परोहा नपा र गौर चन्द्रपुरको बिरेन्द्र राजमार्ग जोड्ने बम नहर मै पानीको बहाब उच्च भएपछि आवत—जावत अवरुद्ध भएको छ । हुलाकी सडकखण्ड भएर बिरगंज आवतजावत गर्ने सवारी साधन आवागमन ठप्प भएको छ ।
फतुवामहेशपुर गाउँ भएर राजपुर जाने कच्चीबाटो समेट पानीले कटान गरेपछि राजपुर र परोहाका स्थानीयहरु जसोतसो डोरिको साहराले आवतजावत गरिरहेको स्थानीय महमुद आलमले बताए । अविरल वर्षा सँगै झाँझ नदीमा आएको बढीले रौतहटको जयनगर मा बाटो कटान सुरु गरेको छ । झाँझ नदीमा आएको बाढीले जयनगरमा रहेको झाँझ नदीको पुलको पछिम छेउमै बाटो कटान सुरु गरेको छ ।
उक्त पुलको छेउको ९० प्रतिशत सडकको भाग बढीले कटान गरिसकेको र अब १० प्रतिशत अर्थात एक देखि डेढ मीटरसम्म मात्रै बाटो कटान गर्न बाँकी रहेको देखिएको छ । बाढीले कटान गर्न बाँकी रहेको उक्त डेढ मीटर बाटो कटान गरी उक्त सडक नै अवरुद्ध हुने छ ।
दैनिक मधोपुर, विसुनपूर्वा मानपुर, सिंगारमन धर्मपुर, जयनगर सहित दर्जनौं गाउँका हजारौं बासिन्दा हरु जयनगर को झाँझ पुल को बाटो भएर नै आवत जावत गर्ने गर्दछन । यता गरुडा नगरपालिका—१ जयनगर का वडा अध्यक्ष सरोज यादवले अवरुद्ध हुन् लागेको बाटोलाई जसरीपनि जोगाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त बाटो कटान लाई रोक्ने तयारी गरिरहेको वडा अध्यक्ष यादवले बताए । जिल्ला प्रसासन कार्यालय रौतहट सहित जिल्ला प्रहरी ,शस्त्र प्रहरीले बाढीबाट बच्न स्थानीयलाई सजग भएर बस्न अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनतालाई प्राकृतिक प्रकोपबाट बचाउन नेपाल प्रहरी, नेपाली सेना र शस्त्र प्रहरीको डिजास्टर टोली तयार अवस्थामा रहेको बताएका छन् ।
ठाउँठाउँको रिपोर्टिङ्ग गर्ने कार्य भइरहेको केही विपद परे आकस्मिक टोली परिचालन गरिने यादवले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…