मारुती प्रकरण : संघर्ष समितिद्धारा ज्ञापनपत्र, सिडिओ कणेल एक्सनमा
सिडिओ कणेलले जनताका गुनासा सम्बोधन गर्न आफू पछि नहट्ने बताएका छन् ।

२०७७ भदौ २६ शुक्रबार, राति ९:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ ।
विभिन्न माग राखी मारुतीविरुद्ध आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएको हो । संघर्ष समितिका स्थानीय अगुवाहरुले विभिन्न निकायलाई बोधार्थ राख्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् ।
समितिले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरधाम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनकपुरधाम, डिभिजन वन कार्यालय, लहान, जिल्ला प्रहरी कार्यालय, सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयालाई बोधार्थ राखिएको छ ।
मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको वनको तीन बिघाबढी सार्वजनिक जग्गा फिर्ता भई वनकै कायम हुनुपर्ने, वातावरण र ध्वनी प्रदुषण नियन्त्रण तथा धुवाँ–धुलो व्यवस्थित गरी नियन्त्रण गर्नुपर्ने, यस उद्योगको छाडापनले प्रत्यक्ष रुपमा प्रभावित किसानहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने, यस उद्योगमा हुने ठेक्का प्रक्रिया तथा कर्मचारी भर्नाको विज्ञापन स्थानीय तथा राष्ट्रिय पत्रिकामा हुनुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिई उद्योगमा ९० प्रतिशत स्थानीय कामदार राख्नुपर्ने, उद्योगमा कामदारसँग लेवी तथा विभिन्न बाहानामा गरिने शोषण अन्त्य हुनुपर्ने संघर्ष समितिको माग छ ।
यस्तै, मारुती सिमेन्ट उद्योगको परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विशादीयुक्त पानी व्यवस्थित गर्ने र खोलाबाट बगाउन नपाउने तथा त्यस क्षेत्रलाई आतंकित बनाएको दुर्गन्ध नियन्त्रण गर्ने र उद्योगले यस क्षेत्रमा कुनै किसिमको हानी नोक्सनी नपुर्याउने तथा यहाँका जनताको हित केन्द्रित हुनुपर्ने माग उनीहरुको छ ।
सार्वजनिक सम्पत्ति जोगाउन तथा जनताको हितको लागि सरकारी निकायले अग्रसरता देखाउनुपर्नेमा आफूहरुले आन्दोलन गरिरहनुपरेको र आन्दोलन गरेपनि अपेक्षित पहल नभएको गुनासो पनि ज्ञापनपत्र मार्फत् पोखिएको छ । संघर्ष समितिका संयोजक चिरञ्जीवी यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा यथाशिघ्र वा बढीमा सात दिनभित्र ठोस पहल र उल्लेखित मागहरु सम्बोधन नभए लकडाउनमै भिषण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यता, सिरहाका सिडिओ प्रदीपराज कणेलले सार्वजनिक सम्पत्ति संरक्षणको लागि आफू लागिपरेको बताएका छन् । उनले यस आन्दोलनमा उठेका मागहरुका सन्दर्भमा सम्बन्धित सबै निकायलाई खटाइसकेको जानकारी दिए ।
‘यस आन्दोलनमा उठेका विषयहरुका सन्दर्भमा मैले सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको छु,’ उनले न्यूज ब्यूरोसँग भने, ‘जनताका गुनासालाई मैले आफ्नै बुझ्छु, आशा गरौं, चाँडै यसको पनि टुंगो लाग्ला ।’
जनताका गुनासालाई आफ्नै समस्या सम्झेर काम गरिरहेको बताउँदै उनले जनताका गुनासा सम्बोधन गराउन आफू पछि नहट्ने प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…