खाना नपुग्नेको लागि सिरहाको गोलबजारमा फुड बैँक सँचालन
उनीहरुले नहुनेले लिएर जाने तथा हुनेले दिएर जान आग्रह गरेका छन् ।

२०७७ भदौ १६ मंगलबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर निषेधाज्ञा र लकडाउन कारण दुई छाँक खान नपाएका निमुखाहरुको लागि सिरहाको गोलबजारमा फूड बैँक स्थापना गरिएको छ ।
लकडाउनको समयमा छाक टार्न मुस्किल परेकाहरुको लागि आज (मङ्गलबार) बाट गोलबजार सिरहामा फुड बैंक संचालन गरिएको हो ।
लकडाउन र निषेधाज्ञाले काम गरी खानेहरुले काम नपाउँदा भोकै बस्न बाध्यभएकाहरुको लागि सो फुड बैँक सँचालन गरिएको हो । फुड बैंकमा चामल, तेल, नुन, दाल, सोयाबिन, भुजा (मुरही) र मास्क बितरण गरिरहेको छ ।
खान पुग्नेले खान नपुग्नेलाई सहयोग गरि यस बिपत्तिबाट मिलेर लडन युवा, व्यापारी, कर्मचारी, पेशाकर्मी तथा आमजनतामा आग्रह समेत गरेका छन् । खाना नै नपाएर भोकले मर्नु परेको समाचारहरु आईरहेको बेला अब कोही पनि भोकले नमरोस भन्ने उदेश्य सहित फूड बैँक सँचालन गरिएको सहजकर्ता एवम अभियन्ता राम कुमार यादवले जनाएका छन् ।
“तपाईको सहयोग कसैको घरको चुलो बल्छ भने यो भन्दा ठुलो कार्य अरु कुनै हुन सक्दैन भन्ने कुरामा हामी बिश्वस्त छौं । तपाई आफुले सक्ने जती चामल, नुन, तेल, सोयाबिन, दाल र मुरही दिएर यस कार्यमा सहयोग गर्न सक्नु हुन्छ ।”– भन्दै अभियन्ताले आव्हान गरेका छन् ।
छाक टारौं, कारोना संग मिलेर लडौं, हामीले नगरे कसले गर्ने मूल नारा सहित यादव सहित बशिष्ट कुमार झा, सँतोष साह लगायतका युवा अभियन्ताहरुले निजी स्तरबाटै फूड बैँक सँचालन गरेका छन् ।
फूड बैँक नियमति सँचालनको लागि गोलबजारका व्यापारी, व्यावासायी, मध्यमवर्गीय व्यक्ति, समाजसेवी, विद्यार्थी लगायत विभिन्न सँघसँस्थाहरुसँग सहयोगको अपेक्षा समेत राखेका छन् ।
उनीहरुले नहुनेले लिएर जाने तथा हुनेले दिएर जान आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…