मधेशमा चौरचन पर्वको रौनक
आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा

२०७७ भदौ ६ शनिबार, बिहान ११:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको विभिन्न जिल्लामा आज चौरचन (चौठचन्द्र) पर्व विधिवत रुपमा मनाइदैछ । कोभिड–१९ को सन्त्रासबीच नै पौराणिक मान्यता अनुसार विधि विधानले चौरचन पर्वको रौनक बढेको छ ।
अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी रहेको बेला पनि चौरचन पर्वलाई मधेशकी महिलाहरुले निरन्तरता दिएकी हुन् । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपूmल र वस्त्रआभूषण चढाइने परम्परा छ ।
पर्वको तयारीमा अहिले हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।
खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…