'नेकपाका जनप्रतिनिधिले नै जग्गा बेचे, हामी माथिल्लो निकायसम्म जान्छौं'
संघ र प्रदेशका सांसदहरुको संलग्ता पनि प्रष्ट देखिएको र संलग्न रहेकै कारण उनीहरु चुप बसेको उनको दावी छ ।

२०७७ साउन २९ बिहीबार, राति १०:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको सार्वजनिक जग्गा नेकपाकै नेता तथा जनप्रतिनिधिको मिलेमतो र चलखेलमा निजीकरण गरिएको आरोप लगाइएको छ ।
जग्गा फिर्ता हुनुपर्ने माग गर्दै बिहीबार पूर्वपश्चिम् राजमार्गमा भएको चक्काजाम र आन्दोलनलाई सम्बोधन गर्दै जसपाका स्थानीय नेता रामदयाल यादवले यस्तो आरोप लगाएका हुन् ।
उनले त्यहाँको तीनै तहका जनप्रतिनिधि र पहुँचबालाको ठूलो आर्थिक चलखेलमा जग्गा हड्पिएको आरोप लगाए । ‘यहाँ संघदेखि प्रदेश र स्थानीय तहसम्म सबैमा नेकपाकै जनप्रतिनिधि छन्, झण्डै अर्बौं बराबरको यो जग्गा करोडौं चलखेल गरि निजीकरण गरिएको हो,’ उनले भने, ‘उनीहरुको हाउभाउले पनि यो प्रष्ट हुन्छ ।’
सार्वजनिक जग्गा निजीकरण हुनुमा आफ्नो संलग्ता नरहेको देखाउन नाटक रची मात्र नगरपालिकाले मुद्दा गरेको र पछि चलखेल गरी मुद्दा हारेको उनले दावी गरे । संघ र प्रदेशका सांसदहरुको संलग्ता पनि प्रष्ट देखिएको र संलग्न रहेकै कारण उनीहरु चुप बसेको उनको दावी छ ।
उनले जग्गा बचाउको लागि माथिल्लो निकायसम्म आफूहरु जानेसमेत बताए । जग्गा फिर्ता नभएसम्म संघर्ष नरोकिने उनले चेतावनी दिएका छन् ।
के हो जग्गा विवाद ?
साबिकको चन्द्रउदयपुर गाविस ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर जग्गा २०५८ सालमा असनपुर ६ का फौज बहादुर भट्ट क्षेत्रीको नाममा सुकुम्वासी आयोगबाट आएको देखिन्छ । २०७४ असोज २२ गते गोलबजार नगरपालिका–९ का वडाध्यक्ष रामपुकार कामतीले त्यो जग्गामा घरबाटो नरहेको भनेर सिफारिस दियो ।
त्यसपछि फौज बहादुरको नामबाट अर्नमा गाउँपालिका–५ कृष्णपुरकी अनितादेवी साह र लहान–८ की बिना कुमारी चौधरीको नाममा २०७४ कार्तिक १३ गते किनबेच भइ नामसारी भएको लालपुर्जामा उल्लेख छ । यो जग्गा भएको स्थानमा प्रतिधुर ५ लाखबढी मूल्यमा बिक्री भइरहेको छ ।
जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जग्गा निजीकरण गरिएको चर्चा स्थानीयहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५ सालमा जिल्ला अदालत सिरहामा सार्वजानिक जग्गा भएको दाबी गर्दै मुद्दा दायर गर्यो । तर, अदालतका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले गत साउन २६ गते फौज बहादुर भट्टसहित चारजनाको नाममा नै चलनचल्ती कायम गरिदियो ।
अदालतले जग्गा पास गराएकाकै पक्षमा फैसला गरिदिएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । नगरपालिकाले जनताको आँखामा छारो हाल्न मुद्दा गरेको र पैसाको बार्गेनिङ गरेर मुद्दा हारेको स्थानीयको आरोप छ ।
सम्बन्धित समाचार :
सार्वजनिक जग्गामा भूमाफियाको चलखेल : यसरी भयो करोडौंको जग्गा व्यक्तिको नाममा
सार्वजनिक जग्गा अतिक्रमण : अदालतको फैसलाविरुद्ध सिरहामा प्रदर्शन
सिरहाः हडपिएको सार्वजनिक जग्गामा झण्डा गाडिए, प्रदर्शन सहित चक्काजाम !
जग्गा प्रकरण : 'यो बालुवाटार होइन मधेश हो, ओली–प्रचण्डका चेलाहरु सचेत होस्'















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…