सार्वजनिक जग्गामा भूमाफियाको चलखेल : यसरी भयो करोडौंको जग्गा व्यक्तिको नाममा
नगरपालिकाले पनि नामकै लागि मुद्दा गरेर चलखेल गरी अदालतबाट जग्गा सदर गराएको स्थानीय बताउँछन् ।

२०७७ साउन २८ बुधबार, बिहान ११:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको झण्डै अढाई बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास भएको छ ।
पूर्वपश्चिम राजमार्गमै रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास भएको हो । नगरपालिका र सरोकारबाला निकायकै मिलेमतोमा सुकुम्वासी जग्गा गैर सुकुम्वासीको नाममा पास भएको तथ्य बाहिर आएको छ ।
चन्द्रउदयपुर ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गा २०५८ सालतिर धनगढीमाई नगरपालिकाकी विना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास भयो । सम्बन्धित निकायकै मिलेमतो सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको चर्चा स्थानीयहरुमा चलेपछि नगरपालिकाले २०७५ सालतिर रष्टरी बदरको निम्ति जिल्ला अदालत सिरहामा मुद्दा गर्यो ।
तर, अदालतले पनि सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदिएको छ । जिल्ला अदालत सिरहाका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले गत सोमबार उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएको हो ।
सुकुम्बासीको नाममा हुकुमबासीले पैसाको भरमा जनप्रतिनिधि, मालपोतको कर्मचारी तथा केही पहुँचवालालाई मिलाई सो जग्गा हड्पिएको स्थानीयको आरोप छ । नगरपालिकाले पनि नामकै लागि मुद्दा गरेर चलखेल गरी अदालतबाट जग्गा सदर गराएको स्थानीय बताउँछन् ।
सुकुम्वासीको नाममा जग्गा पास गराउने दुबै जना यहाँको नभई अन्तैको भएको, गरिब तथा विपन्न नभएर धनाढ्य रहेको स्थानीयहरुको भनाई छ ।
यता, सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी निजी बनाएको विरुद्धमा आज त्यहाँका स्थानीयसहित वडाध्यक्ष रामपुकार कामति, जसपा मिर्चैयाका रामदयाल यादव, तत्कालिन राविसंघका अध्यक्ष चिरञ्जीवी यादव सहितकाले सयौंको संख्यामा विरोध प्रदर्शन गर्दै अदालत घेराउ गर्न सिरहा जाँदैछन् ।
वडाध्यक्ष कामतिले नगरपालिकाले जग्गा बचाउको लागि प्रयास गरेपनि उदालतले अनुगमन तथा निरीक्षण नै नगरी फैसला गरिदिएको प्रतिक्रिया दिए ।
अदालतको फैसला स्वीकार्य नरहेको भन्दै उनले सार्वजनिक जग्गा संरक्षणको लागि माथिल्लो निकायसम्म जाने बताए । ‘नगरपालिकाले मुद्दा गरेपछि आशा थियो, तर अदालतको फैसलाले चित्त बुझेन,’ वडाध्यक्ष कामतिले भने, ‘भित्रको कुरा के हो थाहा भएन, तर जनप्रतिनिधि र यहाँको स्थानीयको नाताले म यो विषयलाई त्यत्तिकै छाड्दिन ।’
यस्तै, जसपाका रामदयाल यादवले भने नगरपालिकाले मुद्दा गरेपनि जग्गा बचाउन नसक्दा आफूलाई आश्चर्य लागेको बताउँछन् । उनले नगरपालिका, संघीय सांसद, प्रदेश सांसदहरुकै मिलेमतोमा जग्गा निजिकरण गरिएको भन्दै आफूहरु सार्वजनिक जग्गा अतिक्रमण र भूमाफियाविरुद्ध कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।
सार्वजनिक जमिनमा भूमाफियाले व्यापक चलखेल गरेकोले सार्वजनिक जग्गामा आँखा लगाउने भूमाफियाविरुद्ध जस्तासुकै कदम चाल्न परेपनि पछि नहट्ने उनको चेतावनी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…