सार्वजनिक जग्गा अतिक्रमण : अदालतको फैसलाविरुद्ध सिरहामा प्रदर्शन
सरोकारबाला निकाय नै माफियाको पक्षमा उभिँदा नेता, न्यायालय र माफिया छुट्याउन गाह्रो

२०७७ साउन २८ बुधबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सिरहा सदरमुकाममा प्रर्दशन भएको छ ।
गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको करोडौंको सार्वजनिक जग्गा राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा स्थानीय अगुवा तथा बासिन्दाहरुले प्रदर्शन गरेका हुन् ।
चन्द्रउदयपुर ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गा २०५८ सालतिर धनगढीमाई नगरपालिकाकी विना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास भयो । उनीहरु धनाढ्य व्यक्ति हुन् ।
सम्बन्धित निकायकै मिलेमतो सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको चर्चा स्थानीयहरुमा चलेपछि नगरपालिकाले २०७५ सालतिर रष्टरी बदरको निम्ति जिल्ला अदालत सिरहामा मुद्दा गर्यो । तर, अदालतले पनि सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदियो ।
सम्बन्धित समाचार : सार्वजनिक जग्गामा भूमाफियाको चलखेल : यसरी भयो करोडौंको जग्गा व्यक्तिको नाममा
जिल्ला अदालत सिरहाका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले गत सोमबार उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएपछि स्थानीयहरु सडकमा उत्रेका हुन् । सयौंको संख्यामा सिरहा पुगेका उनीहरुले ‘सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, न्यायाधिश–मेयर मुर्दावाद’ लगायतका नारा लगाउँदै जिल्ला प्रहरीको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय सिरहाको गेटसम्म प्रदर्शन गरे ।
थाना चोकदेखि प्रदर्शन गर्दै जिल्ला अदालतसम्म जाने उनीहरुको योजना रहेपनि प्रहरीले सिडिओ अफिसभन्दा अगाडि जान नदिएपछि त्यहीँ कार्यक्रमलाई टुंग्याइएको प्रदर्शनका अगुवा रामदयाल यादवले जानकारी दिए । उनीहरुले जग्गा सम्बन्धमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
सरोकारबाला निकाय नै माफियाको पक्षमा उभिँदा नेता, न्यायालय र माफिया छुट्याउन गाह्रो भएको प्रदर्शनकारीहरुको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…