मोदीद्धारा अयोध्यामा राम मन्दिरको शिलान्यास
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् ।

२०७७ साउन २१ बुधबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् ।
बुधबार भूमि पूजा गर्दै चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको थियो ।
भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी थिए । पूजामा सहभागी सबैले भौतिक दूरी कामय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो ।
यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो । गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो ।
अदालतले मुस्लिक मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो । यससँगै भारतमा कोरोना भाइरस महामारीको बीचमा मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् ।
मोदीको पार्टी भारतीय जनता पार्टीका लागि राम मन्दिरको निर्माण महत्वपूर्ण प्रतिबद्धता थियो । हिन्दू राष्ट्रवादी मोदीले यसअघि राम मन्दिर निर्माणको वाचा गरेका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।
टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…