नेपालीलाई विदेशबाट फर्काउने यस्तो छ सरकारको तयारी
तर, आफैं पैसा तिरेर होटलमा बस्छु भन्नेहरुले त्यो पनि पाउने छन् ।

२०७७ जेठ ८ बिहीबार, बिहान ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकार विदेशमा रोजगार गुमाएका लाखौँ नेपालीलाई फर्काउने तयारीमा जुटेको छ ।
उनीहरुलाई क्वारेन्टिनमा राख्न राजधानीका होटल समेत प्रयोग गरिने भएको छ । यद्यपि होटलको खर्च श्रमिक आफैँले बेहोर्नुपर्ने छ ।
राजधानीका कुन कुन होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने भनेर टुंगो लगाउने जिम्मा पर्यटनमन्त्री योगेश भट्टराईलाई दिइएको छ । यसबाहेक सरकारी खर्चमा श्रमिकलाई राख्न ठूलो संख्यामा क्वारेन्टिन निर्माण गरिने भएको छ । यसको जिम्मेवारी भने नेपाली सेनालाई दिने सरकारको तयारी छ ।
वैदेशिक रोजगारको प्रमुख ७ गन्तव्य मुलुकबाट मात्र ४ लाखभन्दा बढी नेपाली फर्किने आकलन गरिएको छ । कतिपय मुलुकले श्रमिक लैजान नेपाललाई आग्रह समेत गरिसकेका छन् । उनीहरुलाई ल्याएपछि कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी थालेको हो ।
श्रमिकलाई विमानस्थलमा उत्रिएदेखि घरसम्म र्पुयाउन कसले के गर्ने भनेर जिम्मेवारी बाँडफाँट भइरहेको छ । विदेशबाट फर्किने नेपालीको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने छ ।
त्यसका लागि विमानस्थलमा स्वास्थ्य डेस्क स्थापना गर्ने सरकारको कार्ययोजना छ । स्वास्थ्य डेस्कमा परीक्षण गरेपछि अध्यागमनको काम पूरा गर्ने र त्यसपछि श्रमिकहरुलाई कोरोना विशेष स्वास्थ्य परीक्षण स्थलमा लगिनेछ ।
त्यहाँ नमुना संकलन गरेर उनीहरुलाई अस्थायी क्वारेन्टिनमा लगिनेछ । तर, आफैं पैसा तिरेर होटलमा बस्छु भन्नेहरुले त्यो पनि पाउने छन् । त्यसका लागि सरकारले नै होटल तोक्ने छ । सरकारले अहिले होटल र क्वारेन्टिन व्यवस्थापन गर्न सुरु गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…