१ करोड २५ लाख रुपैयाँको रातो गुलाफ
काठमाडौँ, १२ माघ : यस वर्षको भ्यालेन्टाईन डे का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुला

२०७४ माघ १२ शुक्रबार, बिहान १०:४६ बजे२ मिनेट पढाइ

काठमाडौँ, १२ माघ : यस वर्षको भ्यालेन्टाईन डे का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो ।
अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ ।
त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्षको प्रणय दिवसमा एक लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो ।
गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि यस वर्ष भारतमानै फूलको मूल्यमा वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा केही मूल्य वृद्धि हुने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भन्नुभयो, “जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।” हाल काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेबु्रअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ ।
त्यसैगरी, अघिल्लो वर्ष रु ७० लाख मूल्य बराबरको सयपत्री फूलको माला ल्याइएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गर्दछ । गत वर्ष रु एक अर्ब ६१ करोडको वार्षिक फूलको आर्थिक कारोबार हुने गरेको थियो । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । मुख्य गरी कात्तिक महिनादेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एशोसिएशनले जनाएको छ ।
प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।
नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।
यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । सामान्यतया ६०० प्रजातिका फूल रहे पनि १४७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…