वैशाख २६ गतेदेखि लकडाउन खुकुलो पार्ने खाका तयार, यस्ता छन् व्यवस्था
आंशिक रुपमा खुल्ला गरेपनि सरकारले लकडाउन भने लामो समयसम्म गर्ने तयारी गरेको छ ।

२०७७ बैशाख २२ सोमबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख २६ गतेदेखि लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने भएको छ ।
लकडाउन खुकुलो पार्न स्वास्थ्य मन्त्रालयले प्रारम्भिक खाका तयार पारिसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सो खाकाअनुसार जोखिम कम भएका क्षेत्रमा कार्यालय तथा यातायातका साधन आंशिक रुपमा सञ्चालन हुनेछन् ।
जोखिम हेरेर सरकारले ती क्षेत्रलाई तीन भागमा वर्गीकरण गर्ने र सोही अनुसारको व्यवस्था लागू गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले जनाए । २६ गतेदेखि लकडाउनलाई खुकुलो बनाउन प्रधानमन्त्रीले नै निर्देशन दिएपछि स्वास्थ्य र गृह मन्त्रालयले गृहकार्य गरिरहेको ती अधिकारीको भनाइ छ ।
संक्रमित भेटिएका क्षेत्र सिल गर्दै जाने र त्यहाँ आवतजावत पूर्ण रुपमा बन्द गरिने खाकामा उल्लेख छ । हालसम्म उदयपुर, वीरगन्ज र नेपालगन्ज सिल गरिएको छ । आइतबार १५ संक्रमित भेटिएको नेपालगन्ज तत्कालै सिल गरिएको छ ।
यस्तै, निजी गाडी, ट्याक्सी र मोटरसाइकल चल्न पाउने छन् । मोटरसाइकलमा एक जना मात्रै र ट्याक्सीमा एक जना मात्रै यात्रु बोक्न पाइने छ ।
यस्तै, आन्तरिक रुपमा उडान पनि सुरु गर्ने गर्ने योजना बनेको छ । कार्ययोजनाअनुसार विमानले क्षमताभन्दा आधा यात्रु मात्रै बोक्न पाउने छन् ।
यस्तै, डान्सबार, रेस्टुराँ, फिल्म हल, विद्यालय पूर्ण रुपमा बन्द हुनेछन् । भीडभाड हुने कार्यक्रम तथा विवाह, व्रतबन्ध, भोजभतेर गर्न पाइने छैन ।
उच्च जोखिम भएका क्षेत्रबाट भने आउजाउ गर्न दिइने छैन । आंशिक रुपमा खुल्ला गरेपनि सरकारले लकडाउन भने लामो समयसम्म गर्ने तयारी गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…