सरकारी अस्पतालमा मेसुको मनोमानी : प्रतिस्पर्धा विनै कर्मचारी भर्ना
कुशवाहा अस्पातलको मेसुको रुपमा आएदेखि नै आफूखुशी कार्य गर्दै आएको गुनासो पनि उत्तिकै छ ।

२०७७ बैशाख २१ आइतबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लहानमा अवस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालले मापदण्ड मिचेर कर्मचारी पदपूर्ति गरेको पाइएको छ ।
अस्पतालले मापदण्ड मिचेर प्रतिस्पर्धा विनै नर्स छनोट गरेको पाइएको हो । अस्पतालले गत फागुन १८ गते दुई जना स्टाफ नर्स करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।
सोही अनुसार जम्मा ११ जनाको दरखास्त परेको थियो । तर, अस्पतालले भने उम्मेदवारलाई प्रतिस्पर्धा नै नराएर गुपचुप रुपमै दुई जना नर्स नियुक्त गरेको छ ।
करारमा कर्मचारी नियुक्त गर्दा लिखित परीक्षा वा अन्तर्वार्ता अथवा दुबैको योग्यताक्रमका आधारमा नियुक्त गरिनुपर्ने प्रावधान छ । सबै उम्मेवादवारहरुलाई प्रतिस्पर्धा गराएर पदपूर्ति गर्नुपर्नेमा अस्पताल प्रशासनले आफूखुसी नियुक्त गरेको तथ्य खुलेको हो ।
विज्ञापन आह्वान भएपछि आफूहरुले फारम भरेपनि अन्तर्वार्ता नलिइकनै पदपूर्ति भएको आवेदक मध्येका एकजनाले बताइन् । ‘अन्तर्वार्ताका लागि मिति तोकिने पर्खाईमा थियौं, तर एक्कासी पदपूर्ति भइसकेको जानकारी पायौं,’ उनले न्यूज ब्यूरोसँग भनिन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सुनिल कुशवाहाले आर्थिक चलखेल गरी र नजिकका मान्छेलाई नियुक्ति दिएको आवेदकहरुको आरोप छ । उनी अस्पातलको मेसुको रुपमा आएदेखि नै आफूखुशी कार्य गर्दै आएको गुनासो पनि उत्तिकै छ ।
यता, यस सन्दर्भमा मेसु कुशवाहासँग प्रतिक्रिया लिन कयौं पटक प्रयास गरेपनि फोन उठेन । अस्पतालका सहायक जगत महतोले भने कोरोना त्रासका कारण परीक्षा लिने वातावरण नभएको भन्दै आवेदकहरुको माक्र्सको आधारमा पदपूर्ति गरेको दावी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…