कमला नदीको त्रासले आसा मारेका गाउँलेहरु सिडिओ पुगेपछि हर्षित
सिडिओ निरौलाको टोली पुगेपछि स्थानीयहरुले आसा जगाउँदै कमलाको बाँध निर्माण हुने र पुनः स्थापित हुने आस जगाए ।

२०७७ बैशाख १९ शुक्रबार, राति ११:१८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीको त्रासले त्यस छेउका जनजीवन वर्षैभरि त्रासमय रहेको हुन्छ ।
गत वर्ष मात्र आएको भिषण बाढीका कारण कमला नदीले छर्की (बाँध) भत्काएर छेउका कैयौं गाउँलाई विस्थापित नै गराएको थियो ।
गत वर्षको अन्तिम असार तर्फ आएको भिषण बाढीका कारण कमला नदीमा आएको उच्च बहाबले छर्की फोडेपछि स्थानीयहरु विस्थापित हुन पुगेका थिए । पुनः छर्की र बाँध बन्ने आसा मारिसकेको अवस्थामा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा गएको अनुमगन टोलीलाई देखेपछि स्थानीयहरु हर्षित भए ।

कमला नदी नियन्त्रण आयोजनाको पहलमा धनुषाका सिडिओ कोषहरी निरौला नेतृत्वको अनुमगन टोलीले कमला छेउको विभिन्न गाउँहरुको विभिन्न ठाउँमा शुक्रबार अनुमगन र नीरिक्षण गरेको छ ।
धनुषाको जनकनन्दीनी गाउँपालिकाको वडा नं. १ इनरवा, कमला नगरपालिकाको वडा नं. ६, वडा नं. ७ र वडा नं. ८ सहित शहिदनगर नगरपालिकाको वडा नं. २ रामघाट तथा सबैला नगरपालिकाको वडा नं. ४ पटेर्वामा अनुगमन नीरिक्षण गरिएको हो ।
अनुगमन टोलीलाई कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले सहजीकरण गरेका थिए । उनले कमला नदीको प्रभाव, असर र बाढीको समयमा मच्चाउने प्रलयको बारेमा प्रकाश पारेका थिए ।
कमला बचाउ अभियानको विशेष समन्वयमा गएको टोलीले वर्षायाम सहित केही महिनामै आउने बाढीको प्रकोपबाट छेउका स्थानीयहरुलाई, गाउँहरुलाई बचाउनको लागि पहल थालिने बताएका छन् ।
कमला नदीको बाँध भत्किएपछि जति बेला पनि नदीमा पानी आए गाउँमा पानी पस्ने गरेको अवस्थापछि यसपाली बाँध समेत नबनेको भन्दै गाउँ नै विस्थापित हुने अवस्थामा सिडिओको टोलीले उनीहरुमा आसा जगाइदिएको छ ।

प्रत्येक वर्ष बर्षायाम सहित आउने बाढीका कारण धनुषा र सिरहाको कमला नदी छेउका गाउँवासीहरु विस्थापित हुँदै आएको छ । बाढी शान्त भएपछि मात्र पुनः गाउँमा वास बस्ने अवस्था रहेको देखिएको छ ।
गत वर्ष मात्र गएको भिषण बाढीका कारण जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ को सिँगो टोललाई नै विस्थापित गरिदिएको थियो भने रेल्वे टर्याक समेत बगाएर लगेको थियो । बाढीको मौसममा सो क्षेत्रमा राहत लिएर जान समेत कठिनाई हुन्छ ।
सिडिओ निरौलाको टोली पुगेपछि स्थानीयहरुले आसा जगाउँदै कमलाको बाँध निर्माण हुने र पुनः स्थापित हुने आस जगाए ।
गतबर्षको बाढीले भत्किएको कमला बाँध देखि लकड, सिग्याही मडान , हथमुन्डा, हरिने, बतराही, रामघाट, सबैला नपाको पटेर्वा सम्मको अनुगमन गरिएको हो ।
सो क्रममा जनकनन्दिनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले टोलीलाई फूलमाला लगाएर स्वागत गरेकी थिइन भने कमलाको कहरको बारेमा समेत सुनाएकी थिइन् ।
.jpg)
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, , कमला नदी नियन्त्रण आयोजना प्रमुख एकराज भट्टराई , प्रहरी उपरीक्षक रबिन्द्र बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान उपरीक्षक बिमल डङ्गोल, इन्जिनियर कृष्ण चन्द्र झा, कमला सरोकार नेका सचिब बिशेस्वर यादव, शहिदनगर नगरपालिकाका मेयर एवम् कमला अभियानी उदय कुमार बरबरिया (यादव) लगायतको टोलीले अनुगमन गरेको थियो ।
यसका साथै, जनकनन्दनी गाउँपालिकाकी उपप्रमुख भारती कार्की , कमला अभियानी एवम् जनकनन्दनी १ वडा अध्यक्ष धर्मेन्द्र गोईत, कमला नपा ६ का वडा अध्यक्ष समसुल मिया, कमला अभियानी सुरेन्द्र यादव, राजकिशोर सल्हैता, तिर्पित भुडेर, धर्मनाथ यादव , देवु यादव, रामनगिना साह सहित पत्रकार इन्द्र भुसन यादव लगायतको पनि सहभागीता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…