धनुषाः वडाध्यक्ष विरुद्ध प्रदर्शन, वडाध्यक्ष भन्छन– 'महामारीमा पनि राजनीति'
सप्लायर्सले समेत त्यस्तो कुनै समाग्री नदिएको र षडयन्त्रपूर्वक राखेको हुन सक्ने बताए ।

२०७७ बैशाख १७ बुधबार, बेलुकी ६:०९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ मा राहत वितरणको क्रममा २ पोकामा कुहिएको चामल र केही आलू भेटिएको छ ।
प्रदेश सरकारको परिपत्र बमोजिम लकडाउनबाट प्रभावित भएका अति गरिब, मजदुर, विपन्न, ज्यालादारीमा काम गर्नेहरुलाई राहत दिने प्रावधान अनुसार आज वडा नं. २ मा राहत वितरण गरिएको हो ।
राहत वितरणको क्रममा ६०० पोकामध्ये दुई पोकामा कुहिएको चामल पाएपछि स्थानीय केही बालबालिकाहरुले वडाध्यक्ष सहित मेयर विरुद्ध प्रदर्शन गरेका छन् ।
भीडभाड नहोस तथा उनीहरुले लकडाउनको नियमलाई अवहेलना गरी प्रर्दशन गरेपछि केही बेरमै पुगेका प्रहरी प्रशासन भीडलाई तितिरवितिर पारेका थिए ।
राहत बाँडने क्रममा ५ सय ९८ जनाको राहत गुणस्तरीय भएपनि मात्र २ वटा पोकामा डल्लो परेको (भिजेको जस्तो) चामल भेटाएको थियो भने केही आलू पनि आधी आधी कुहिएको देखिएको थियो ।
सो सन्दर्भमा शहिदनगर नगरपालिकाका वडाध्यक्ष जैसीलाल भिन्भारले ६०० पोकामा मात्र २ पोकामा सडेको चामल भेटाउनु कतै न कतै षडयन्त्रण भएको र त्यो पनि छिट्टै बाहिर आउने बताए ।
वडाध्यक्ष भिन्भारले राजनीतिक पूर्वाग्रह र महामारीमा पनि राजनीति गरेको आरोप लगाए । त्यहाँ जनता समाजवादी पार्टी, नेपाली काँग्रेसको पनि सरकार रहेको उनले बताए ।
उनले भने, सोमबारदेखि नै राहतको समाग्री प्याकिँग सुरु गरिएको थियो । सोमबार म आफै बसेर लगभग २ सय ५० जति राहतको पोका बनाउन लगाए, त्यतिबेलासम्म कतै पनि चामल वा आलु त्यस्तो देखिएनन् । त्यही चामलको बोडीहरुबाट आज पनि प्याकिँग गर्न लगाए, म स्वयमं पनि त्यही थिए, त्यो बेला पनि कतै केही देखिएन , तर मँगलबार( हिजो) म बतराही(एक गाउँ) मा जँगली जनावर मरेको र प्रहरीसँग मुचुल्कामा गएको बेला ५२ वटा पोका तयार पारिएको थियो, मैले त्यसलाई खोलेर हेर्न गएन, मेरो अनुपस्थितिमा ५२ वटा पोका बनाइएको थियो, अब ६०० बाट ५ सय ९८ वटा ठिक र २ वटा मात्र कसरी बेठिक भयो त ? यो कसरी भयो, त्यसको छानबिन हामी पनि गर्दैछौं ।
वडाध्यक्ष भिन्भारले जनकपुरबाट मगाइएको चामल तथा राहतका समाग्रीहरुमा मात्र २ वटा पोकको चामलमा डल्लो र आलूमा आशिंक कुहिएको देखिएको स्वीकार गर्दै राजनीतिक पूर्वाग्रह र फँसाउने हिसाबले नै षडयन्त्रपूर्वक राखिएको दाबी गरे ।
उनले भने, हामी यसको छानबिन सुरु गरिसकेका छौं, जनकपुरका सप्लायर्सले पनि हामीलाई कुहिएको चामल दिएन । दाल, तेल र बाँकी समाग्री सबै दुरस्तै थियो, ६०० मध्ये २ पोकामा डल्लो चामल भेटाएको छ । उनीहरुको २ पोका हामी फिर्ता गरि लिएका छौं, गुणस्तरीय पोका पुनः दिन्छौ, तर षडयन्त्रकारीको मुखडा छिट्टै बेनकाब हुन्छ ।
एक अर्को प्रसँगमा वडाध्यक्ष भिन्भारले २/३ जना युवकहरुले आफू पत्रकार रहेको तथा कुन पार्टीबाट हो भनेर समेत सोधेपछि शंका लागेको बताए । उनीहरुले पटक-पटक आफू तर्फ मोबाइल फर्काउँदै कुन पार्टीबाट जितेको भनेर मात्र सोधिरहेको उनले बताए ।
यता, सो सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आफू वडाध्यक्षको मातहतमा नभएर वडासचिवको मातहतमा राहतको लागि रकम पठाएको बताए ।
गुणस्तरीय समाग्री खरिद गरी मात्र वितरण गर्न निर्देशन दिएको बताउँदै सप्लायर्सले समेत त्यस्तो कुनै समाग्री नदिएको र षडयन्त्रपूर्वक राखेको हुन सक्ने बताए ।
मेयर विरुद्ध केही स्थानीय बालबालिकाहरुले प्रदर्शन गरेको सन्दर्भमा मेयर बरबरियाले राजनीतिक पूर्वाग्रह र उक्साएका केही बालबालिकाहरुलाई प्रयोग मात्र गरिएको बताए ।
उनले भने, - "यदि जनप्रतिनीधि दोषीहो भने हामी कारवाही तर्फ जान्छौं, यदि षडन्त्र नै गरिएको छ र जानीबुझिकन राखेर गरिएको छ भने त्यसलाई पनि बाहिर ल्याउनेछौं ।"
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…