कमला नगरपालिकाद्धारा 'विशेष राहत प्याकेज' घोषणा
यसबाट लक्षित वर्ग प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाइएको छ ।

२०७७ बैशाख १६ मंगलबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको पूर्वी क्षेत्रमा रहेको कमला नगरपालिकाले विशेष राहत प्याकेजको घोषणा गरेको छ ।
कोरोना भाइरसको सँक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका गर्भवति महिला, सुत्केरी महिला, फरक क्षमताका व्यक्ति (अपाँग), अति विपन्न, दलित जनजाती तथा दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुको लागि विशेष राहत प्याकेज घोषणा गरेको हो ।
उनीहरुलाई जीवनयापनको लागि तथा पोषण भरपुर गर्नको लागि नगरपालिकाले विशेष रुपमा राहत प्रदान गर्ने निर्णय गरेको हो । यसका साथै ५ वर्ष मुनिका कुपोषित बालबालिकाहरुको लागि समेत विशेष प्याकेज लागू हुने जनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढानका अनुसार विशेष राहत प्याकेजमा गर्भवति, सुत्केरी र अपाँगता भएका व्यक्तिको लागि साधारण राहत भन्दा परिवारिक हिसाबले बढी गरी राहत प्रदान गरिनेछ ।
जसमा कम्तीमा पनि ४ जना पुग्ने गरी समय समयमा २५ किलो चामल, दाल, पौष्टिक आहारका समाग्री सहित औषधी समेतको व्यवस्था गरिने छ ।
लकडाउनका कारण अति विपन्न तथा अल्पसँख्यक, सीमान्तकृत समुदाय एवम दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी प्रभावित भएको भन्दै विशेष प्याकेज मात्र उनीहरुको लागि लागू हुने नगर प्रमुख राम उदगार गोईतले बताए ।
गोईतका अनुसार, यसका लागि लक्षित व्यक्तिले पहिचान सहित तथ्याँक सँकलन गराउन समेत सूचना जारी गरिएको बताए । यसबाट लक्षित वर्ग प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाइएको छ ।
यसका साथै, नगरपालिकाले नगरभित्र रहेका दीर्घ रोगीहरु जस्तै मधुमेह, टिबी, ब्लडप्रेसर, क्यान्सर, दमा जस्ता रोगीहरुको लागि नगरपालिकाले औषधी निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।
लकडाउनका कारण समयमा औषधी ल्याउन नसकेको तथा औषधीबाट बञ्चित कोही पनि नहोस भन्ने उदेश्यले महिला स्वयंसेविका मार्फत जानकारी गराउँदै तथ्याँक सँकलन गरी औषधी वितरण गर्ने मेयर गोईतले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…