सरकारी राहतमा भेदभाव, वास्तविक पीडित समस्यामा
राहत वितरणको नाममा विध मात्र पूरा गर्ने काम भइरहेको छ ।

२०७७ बैशाख ११ बिहीबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित बनेका कल्याणपुर नगरपालिकाका वास्तविक पीडितसम्म राहत नपुगेको पाइएको छ ।
नगरपालिकाले विभिन्न वडामा राहत वितरण गरेपनि वास्तविक लकडाउन पीडितले राहत नपाएको गुनासो गरेका छन् । वडाध्यक्षहरुको बदमासीका कारण वास्तविक पीडितले राहत पाउन नसकेका हुन् ।
नगरपालिकाले सर्वदलीय बैठक बोलाएर विभिन्न दलका प्रतिनिधिलाई पीडितको विवरण उपलब्ध गराउन भने बमोजिम उपलब्ध गराउँदासमेत वडाध्यक्षहरुले एकलौटी रुपमा राहत वितरण गरिरहेको पाइएको छ । वडाध्यक्षहरुले मनमौजी रुपमा राहत विरतण गर्दा वास्तविक पीडित छुटेको राजपा कल्याणपुरका नगरअध्यक्ष रामबाबु यादवले बताए ।
राहत वितरणको नाममा विध मात्र पूरा गर्ने काम भइरहेको उनको आरोप छ । लकडाउनका कारण काम गर्न नपाएर समस्यामा परेका वास्तविक पीडितलाई राहत दिनुपर्नेमा आसेपासे र हुनेखाने परिवारलाई राहत दिइएको राजपाका बिनोद यादवले बताए ।
यता, वडाध्यक्षहरुले तथ्यांक संकलन गर्दा केही स्थानमा वास्तविक पीडितको नाम छुटेको हुनसक्ने तर, राजनीतिक पूवाग्रही भने नगरिएको नगरप्रमुख सूर्यनाथ मण्डलले दाबी गरे ।
मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन् । लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत वितरण गर्न प्रदेश सरकारले सबै स्थानीय तहमा रकमसमेत पठाइसकेको छ ।
सरकारले पैसा पठाएपनि अझै गरिब तथा विपन्नहरुले राहत पाएका छैनन् । तथ्यांक संकलन पूरा गरेर राहत वितरण गरिरहेका स्थानीय तहहरुले पनि वास्तविक व्यक्तिसम्म राहत पुर्याउन नसकेको, कमसल खाद्यान्न सामग्री वितरण गरिरहेको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…