कोरोना प्रभाव : सुनसान बजार, गस्तीमा प्रहरी
विहानैदेखि निरन्तर गस्तीमा देखिएको प्रहरी खुल्ला रहेका पसलहरु पनि बन्द गराउँदै गएका छन् ।

२०७६ चैत ११ मंगलबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि बढेपछि आजदेखि देश पूर्ण रुपमा लकडाउन भएको छ ।
कोरोनाको उच्च जोखिम रहेको भन्दै सरकारले आजदेखि एक सातासम्मका लागि देश लकडाउन गरेको हो । देश पूर्ण लकडाउन भएपछि देश नै यत्तिबेला सुनसान देखिएको छ । सार्वजनिक ठाउँमा तथा बाहिर चहलपहल घटेको छ ।
लकडाउनका कारण धनुषामा पनि उत्तिकै प्रभाव परेको छ । धनुषाको धनुषाधाम, विरेन्द्रबजार, ढल्केबर, जनकपुर लगायत ग्रामिण भेगमा पनि चहलपहल देखिएको छैन । बजारमा आवतजावतमा समेत रोक लगाइएको छ । अनावश्यक भिडभाड हुन दिइएको छैन ।
छिटपुट चिया, दूध, औषधि पसलबाहेक अन्य व्यावसायिक पसल बन्द भएका छन् । बजार क्षेत्रमा स्थानीयको आउजाउसमेत पातलो देखिएको छ । प्रहरीले बजार अनुगमनको कार्यलाई तीव्रता दिएको छ । विहानैदेखि निरन्तर गस्तीमा देखिएको प्रहरी खुल्ला रहेका पसलहरु पनि बन्द गराउँदै गएका छन् ।
धनुषाधाम क्षेत्रमा प्रहरीको गस्ती टोली निरन्तर अनुगमनमा छन् । सर्वसाधारण नागरिकलाई आकस्मिक बाहेक अन्य कामका लागि बाहिर ननिस्कन आह्वान गरिरहेको र सूचनाको बर्खिलाप विनाकारण घरबाहिर निस्किएको पाइएमा कानुनबमोजिम कारबाहीको चेतावनीसहित सचेत गराउँदै गस्तीलाई तीव्रता दिएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुनम थापाले जानकारी दिए ।
कुनैकुनै ठाउँमा सर्वसाधारणको आउजाउ देखिएपनि रोक लगाउन विहानैदेखि प्रहरी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौलाले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…