सीमा पारीबाट ल्याउने कुखुरा उपर शहिदनगरको निगरानी
कुखुरा फार्ममा चेकजाँच गरी कुखुराको स्याम्पल जनकपुर पठाउने निर्णय समेत गरेको हो ।

२०७६ फागुन १४ बुधबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले भारतबाट अर्थात सीमा पारीबाट ल्याउने मासुजन्य कुखुरालाई निगरानी गर्ने भएको छ ।
शहिदनगर नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा आज (बुधबार) बसेको बैठकबाट सीमा पारीबाट आउने कुखुरालाई कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको हो । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षतामा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
अहिले मासुजन्य पंक्षीहरुमा बर्डफ्लू जस्ता रोगहरु आएको भन्दै त्यसलाई पूर्व नियन्त्रणको लागि कडाई गर्ने भएको छ । “सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहिदनगर” को नारालाई आत्मसात गर्दै नगरभित्र त्यस्तो कुनै प्रकारको रोग भित्रिन नदिने भन्दै पूर्व तयारी हेतु सो निर्णय गरिएको छ ।
यसका साथै, नगरभित्र सँचालित फार्म तथा फ्रेस हाउसमा रहेको पंक्षीको स्याम्पल कलेक्सन (नमुना संकलन) गरी जाँचको लागि जनकपुरको रोग अन्वेषण प्रयोगशालामा पठाउने तयारी समेत गरेको हो ।
शहिदनगर नगरपालिकाको विभिन्न वडामा सँचालनमा रहेको कुखुरा फार्ममा चेकजाँच गरी कुखुराको स्याम्पल जनकपुर पठाउने निर्णय समेत गरेको हो ।
सीमा पारीबाट आउने मासुजन्य कुखुरा निगरानीको लागि तथा चेकजाँच र नियन्त्रणको लागि ईलाका प्रहरी कार्यालय यदुकूहा र सशस्त्र प्रहरी बल यदुकूहाले समेत सघाउने भएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केसी र शसस्त्र प्रहरी बल यदुकुहाका प्रहरी नीरिक्षक मदन धानुकको विशेष उपस्थितिमा सो निर्णय गरिएको हो । अब सीमा पारीबाट ल्याउने कुखुरा चेकजाँच तथा नियन्त्रणको लागि शहिदनगरलाई प्रहरीले समेत सघाउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…