१५ दिने परिक्रमाकै क्रममा एक साधु ढले !
उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि मिथिला विहारी नगरपालिकाको ठेरा कचुरी ल्याइएको जनाइएको छ ।

२०७६ फागुन १३ मंगलबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबभन्दा लामो धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमामा एक साधुको मृत्यू भएको छ ।
गत आईतबारबाट धनुषाको मिथिला बिहारी मन्दिरबाट उठेको किशोरीजीको डोलालाई काँधा दिएका साधुको मृत्यू भएको हो । मृत्यू हुनेमा डोला बोक्ने सदस्य मण्डलका साधु निर्धन यादव रहेका छन् ।
उनको भारतको कल्याणेश्वरमै मृत्यू भएको हो । आज विहान कल्याणेश्वरबाट गिरिजास्थानको लागि प्रस्थान हुने तरखरमा रहेका साधु यादव अचानक ढलेको धार्मिक लस्करका प्रत्यक्षदर्शीहरु बताउँछन् ।
साधु यादव बिहान आगो सल्काएर बसेको र केही बेरमै आगो नजिकै ढलेपछि डोलाका सदस्यहरुबीच खैलाबैला मच्चिएको थियो । उनको मृत्यू भएको खवर उनको परिवारजनलाई दिएपछि मृतकलाई पैतृक गाउँ कचुरी ल्याएको हो । मिथिला बिहारी मन्दिरबाटै साधु यादव यसअघि पनि डोला उठाउँदै आएका थिए ।
उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि मिथिला विहारी नगरपालिकाको ठेरा कचुरी ल्याइएको जनाइएको छ । माध्यमिकी परिक्रमाको क्रममा मृत्यू हुँदा सीधा स्वर्ग जाने तथा मोक्ष प्राप्ती भएको भनेर जनविश्वास रहिआएको छ ।
परिक्रमाको धार्मिक लस्कर भोली (बुधबार) नेपालको महोत्तरी जिल्लाको मटिहानी मठ आउने भएको छ ।
विहानै धार्मिक लस्कर मटिहानीको लागि प्रस्थान गर्ने छ भने विहिबार (पर्सी) १५ गते जलेश्वरको लागि रवाना हुने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…