'मालिकले ज्याला बापत जग्गा दिनुभयो, अहिले उहाँको नातीले खोस्दैछ'
मजदुरी गरेर ज्याला रकम बापत किनेको जग्गा खाली गर्न दबाब आएपछि मियाँ परिवारलाई चिन्ताले पिरोलेको छ ।

२०७६ फागुन ३ शनिबार, बेलुकी ७:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशमा पहिला पहिला जग्गा मालिकहरुले जग्गा बेचेपनि किनेको मान्छेको नाममा भने तत्कालै नामसारी नगरिदिने चलन थियो ।
गाउँघरका जमिन्दारहरुले आजभोलि गरेर टारिदिने परिपाटी थियो । अलिक बढी जथा भएका धनी व्यक्तिहरुसँग त्यत्ति कर पनि गरिदैन्थ्यो । त्यस समयमा सबैले जग्गा नामसारीसँग खासै मतलब पनि राख्ने गर्दैन्थे ।
जमिन्दारहरुलाई जग्गा बापतको रकम दिन्थे, अनि नामसारी भोलिपर्सी हुन्छ नै भनेर बस्न थाल्थे । ठूलठूला जमिन्दारहरुले त आफ्नो घर तथा खेत खलिहानको काम गराएर ज्याला बापत जग्गा लिन चाहनेलाई जग्गा नै मिलाइदिन्थे । तर, नामसारीको निश्चितता भने हुँदैन्थ्यो ।
यस्तै भएको छ हालको मिर्चैया नगरपालिका १२ मा पर्ने सक्रौनमा । स्थानीय जहुरी मियाँ सोही गाउँका जमिन्दार भाइलाल गोहिबारमा लामो समय काम गरे । काम गर्ने भएदेखि थला पर्ने बेलासम्म उनमै काम गरेर जहुरीले जीवन गुजारिदिए ।
काम गरिरहँदा भूमिहिन जहुरीलाई बस्न गोहिबारले ११ धुर क्षेत्रफलको एउटा जग्गा दिए । त्यसपछि करिब ९०/९५ वर्षअघि ज्याला बापत गोहिबारले जहुरीलाई सो जग्गा नै मिलाइदिए । तत्कालिन समयका त्यस क्षेत्रका जमिन्दार मध्येका एक हुन् सिक्रौनका भाइलाल गोहिबार ।
भोलिपर्सी नाममा पास गरिदिन्छु भन्दाभन्दै गोहिबारको निधन भयो । पछि जहुरी पनि बिते । परिवार पाल्न जहुरीका तीनजना छोराहरु कितबल मियाँ, सदल्ली मियाँ र सम्तोली मियाँ पनि गोहिबारमै काम गर्दै आए । भाइलाल गोहिबारको निधनपछि उनका छोरा सहदेव गोहिबारलाई जहुरीका छोराहरु नामसारी गरिदिन बारम्बार भनिरहँदा पनि आलटाल गर्दै टारिरहे । सहदेवको पनि मृत्यु भयो ।
नामसारी गरिदिन्छ भन्ने आशामा लामो समयदेखि बस्दै आएका मियाँ परिवारमा यतिबेला भने त्रास उत्पन्न भइदिएको छ । सदल्ली भन्छन्, ‘मालिकले बुवाले गरेको मजदुरीको ज्याला दिनुभएन, जग्गा नै मिलाइदिनुुभो । आजभोली गर्दागर्दै उहाँ बित्नुभो, तर जग्गा नामसारी भएन । अहिले उहाँको नातीले जग्गा खाली गर भन्दैछ ।’
आर्थिक रुपले विपिन्न मियाँ परिवार ज्याल रकममा खरिद गरेको सो जग्गामा ३ पुस्तादेखि बसोबास गर्दै आएका छन् । साबिक सिक्रौन ४ मा पर्ने किता नम्बर १०२ को उक्त जग्गा हाल भाइलाल गोहिबारका नाती पदम गोहिबारकी श्रीमति विनादेवि गोहिबारको नाममा छ ।
स्थानीय भद्रभलाद्मीहरुले जग्गा विषयमा पञ्चायती बस्न पदम गोहिबारलाई पटकपटक आग्रह गरेपनि उनले बेवास्ता गर्दै आएका छन् । ‘मियाँ परिवार त्यो जग्गामा पुस्तौंदेखि बस्दै आएका छन्, त्यो जग्गा ज्याला बापत मिलाइएको कुरा पनि सबैलाई थाहा छ । यसबारेमा कुराकानी गर्न बस्नको लागि पदमलाई धेरै आग्रह गर्यौं, तर वास्तै गरेको छैन’, स्थानीय रामचन्द्र कापरले भने ।
जग्गाको चलनचलती रेट अनुसार पैसा दिए नामसारी गरिदिने र नदिए जग्गा खाली गराउने पदमले भन्दै आएका छन् । ‘पुस्तौनी सम्पत्ति बेचेर उडाइहाले, अब अरुले मजदुरी गरेर लिएको जग्गामा नजर गडाएको छ, हत्याउन खोज्दैछ । मियाँ परिवारले त्यतिबेलै जग्गा पास गराइहाल्नु पथ्र्यो, नामसारी नगराएर ठूलो भूल गरे । निमुखा ठानेर अहिले उनीहरुमाथि दबाब बनाएको छ’, एकजना स्थानीयले भने ।
हालाकी, दुई वर्षअघि पनि पदमले जग्गा खाली गर्न दबाब दिएका थिए । त्यसपछि स्थानीयहरुले पञ्चायती डाकेर कुरा मिलाउन खोज्दा गाउँमा नमिलेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बसेर विवाद छिनोफानो गरियो । स्थानीय रामपृत कापरले भने, ‘थानामा जग्गा पास गरिदिन पदम सहमत भएका थिए, तर गरिदिएनन् । फेरी त्यहीँ कुरा दोहोर्याउँदै छन् ।’
मजदुरी गरेर ज्याला रकम बापत किनेको जग्गा खाली गर्न दबाब आएपछि मियाँ परिवारलाई चिन्ताले पिरोलेको छ । मियाँ परिवारले सरोकारबाला निकायसँग न्याय दिलाइदिन मागसमेत गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…