रेल केही दिनभित्रै नेपाल आइपुग्दै
२ वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्काे सेट आइपुग्ने विभागले जनाएको छ ।

२०७६ माघ २७ सोमबार, बिहान १०:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ ।
निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ । नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो । रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनले भने, ‘रेल सेट रेलमार्गसम्म केही दिनभित्रै आइपुग्नेछ ।’
सरकारले भारत सरकारसँग २ वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो । ‘जी टु जी’ (२ सरकारका बीच) रेल खरिद गरिएको हो । २ वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्काे सेट आइपुग्ने विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा ५ वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए ।
उनका अनुसार सरकारले अहिले २ वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी २ सेटको क्षमता १ हजार २ सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । ‘रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा १–२ सयसम्म तलमाथि हुनसक्छ,’ उनले भने ।
जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ । सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ । भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ ।
कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ । जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…