राज्यमन्त्री झाको राजीनामा प्रदेश २ सरकारमाथि खतराको बादल !
दुबै दलबीच बढ्दै गएको मनमुटाबका कारण प्रदेशमा सरकार परिवर्तन हुने चर्चा चलिरहँदा राज्यमन्त्रीको राजीनामाले सम्भावना बलियो बनाएको छ ।

२०७६ माघ १४ मंगलबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाको राजीनामासँगै प्रदेश सरकारको भविष्यमाथि बहस सुरु भएको छ ।
प्रदेश सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै झाले मंगलबार राजीनामा दिएकी छन् । मुख्यमन्त्री लालबाबु राउत स्वेच्छाधारी बनेको तथा समाजवादी पार्टीले एकलौटी रुपमा सरकार चलाएको आरोप लगाउँदै झाले राजीनामा दिएकी हुन् ।
तर, उनको राजीनामासँगै प्रदेश २ को राजनीतिक वृतमा फेरी तरंग ल्याएको छ । झाको राजीनामालाई कतिपयले सरकार परिवर्तन हुन लागेको र नयाँ बन्ने सरकारमा उनी मन्त्री बन्ने भनेर लिएका छन् । रौतहटबाट प्रदेशसभा सदस्यमा निर्वाचित झा राजपा अध्यक्षण्डलका सदस्य अनिल कुमार झाकी श्रीमति हुन् ।
झाको राजीनामा पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राजीनामा गरेको छु’ उल्लेख छ । तर, मुख्यमन्त्री राउतले राजपाका मन्त्रीहरु हेरफेर गर्ने चर्चाका बीच झाले राजीनामा दिएपछि सपा र राजपा गठबन्धन सरकारको भविष्यमाथि खतरा बढेर गएको छ ।
राष्ट्रियसभा निर्वाचनमा राजपा नेकपा गठबन्धनको जित र कांग्रेस सपा गठबन्धनको लज्जास्पद हारपछि यी दुई दलबीच तिक्तता बढेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दोधारमा राखेको भन्दै राजपाले राष्ट्रिसभा चुनावमा नेकपासँग तालमेल गरेको थियो । राष्ट्रियसभाको नतिजा सार्वजनिक भएसँगै राजपा र सपाका मन्त्रीहरुबीच समाजिक सञ्जालमा जुहारी नै चल्यो ।
दुबै दलबीच बढ्दै गएको मनमुटाबका कारण प्रदेशमा सरकार परिवर्तन हुने चर्चा चलिरहँदा राज्यमन्त्रीको राजीनामाले सम्भावना बलियो बनाएको छ । प्रदेश २ मा रहेको समाजवादी पार्टी नेतृत्वको सरकार विभिन्न कारणले आलोचित बनिरहेका बेला नयाँ बन्ने राजपा नेकपा गठबन्धनको सरकारमा राजपाले सरकारको नेतृत्व गर्ने चर्चा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…