पत्रकार महासंघ धनुषाले घटना छानबिनको लागि केन्द्रीय मिशन टोली बोलाउने
सँचारकर्मीको क्यामरा खोस्दै उल्टै महिला कर्मचारीहरु उपर हातपात गरेको भनेर आरोप लगाउँदै आएको छ ।

२०७६ पुस २८ सोमबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि जनकपुरधाम उपमहानगरपालिकाका मेयर र केही पत्रकारहरुबीच भएको हातपातको घटनालाई छानविन गर्न पत्रकार महासंघको केन्द्रीय तथा प्रादेशिक मिशन टोली बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको महासंघ धनुषा शाखाका सदस्यहरुको बैठकबाट सो घटनाको छानविनको लागि पत्रकारहरुको मिशन टोली बोलाउने निर्णय गरेको हो । पत्रकार माथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै स्थानीय प्रशासनलाई दिएको पाँच दिने अल्टिमेटम सकिएपछि नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको छ ।
मेयर लालकिशोर साह सहित कुटपिटमा संलग्न व्यक्तिहरु माथि कारवाहीको माग गर्दै आन्दोलनको स्वरुप तय गर्न संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठनका धनुषा संयोजक शैलेन्द्र महतो, नेपाली काँग्रेस निकट प्रेस युनियनका अध्यक्ष राजन सिंह, समाजवादी पार्टी निकट प्रेस नेपालका धनुषा अध्यक्ष अर्जुन मण्डल, प्रेस मञ्च नेपालका अध्यक्ष जयन्त ठाकुर, मधेशी पत्रकार समाजका अध्यक्ष शुभाष कर्ण लगायत प्रेस सम्बद्ध विभिन्न संघ संगठनका पदाधिकारीहरुले आन्दोलनको स्वरुप तय गर्नेछन् ।
समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै दोषी माथि कारवाहीका लागि दवाव सिर्जना गर्न विभिन्न राजनीतिक दल, नागरिक समाज र संघ संस्थासंग समन्वय गर्ने छ । पत्रकार महासंघको केन्द्रीय तथा प्रादेशिक मिशन टोली बोलाउनुका साथै राष्ट्रिय मानव अधिकार आयोगसहितका विभिन्न अधिकारवादी संस्थाहरुलाई घटनाको निष्पक्ष छानबिनका लागि पत्राचार गर्ने निर्णय समेत गरेको महासंघ धनुषाको बैठकले पत्रकार कुटपिट सम्बन्धमा विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुले देखाएको सद्भाव प्रति धन्यवाद ज्ञापन गरेको छ ।
निजी घर जोगाउन जानकी मन्दिरको फुलवारी अतिक्रमण गरेको सम्बन्धमा प्रतिक्रिया लिन गत मंगलवार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुगेका पत्रकारहरु माथि मेयर साहकै निर्देशनमा कुटपिट गरिनुका साथै सँचारकर्मीको क्यामरा खोस्दै उल्टै महिला कर्मचारीहरु उपर हातपात गरेको भनेर आरोप लगाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…