मधेश विकासका लागि लगानी गर्ने चीनको प्रतिवद्धता
मधेशमा हुने चीनविरोधी गतिविधि नियन्त्रणका लागि पनि राजपा नेपालसँग सम्बन्ध बढाएको हुनसक्ने अनुमान गरिएको छ ।

२०७६ पुस २४ बिहीबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चीनले मधेशको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।
राजपाका शीर्ष नेताहरुसँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको विकासमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन् । राजपा नेपालको केन्द्रीय कार्यालयमा नै पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको समग्र विकासका लागि चिनियाँ सरकारले लगानी बढाउने जनाए ।
चिनियाँ कम्युनिस्ट पार्टीका एसिया ब्युरोका जनरल डाइरेक्टर मा सियु सङ तथा सोही पार्टीका नेपाल–भारत विभागका निर्देशक च्याङ ज्यू क्विङले राजपा नेपालका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग भेट गरेका हुन् । छलफलमा राजपाका शीर्ष नेतृत्वले पहाडमा मात्रै लगानी नभई सन्तुलित विकासका लागि सबै क्षेत्र र भूगोलमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।
राजपाको प्रस्तावमा चिनियाँ टोली सकारात्मक जबाब दिएका थिए । उक्त भेटमा वैदेशिक सहयोगसमेत सन्तुलित हुन नसकेको विषयमा राजपा नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच गम्भीर छलफल भएको थियो । चिनियाँहरूले पहाडमा मात्रै विकासमा जोड गर्दा सन्तुलित विकास हुन नसकेको गुनासो राजपा नेपालका अध्यक्षद्वय ठाकुर र महतोले गरेका थिए ।
पछिल्लो समय चीनले पनि मधेशको गतिविधिमा संलग्नता बढाउँदै आएको छ । मधेशमा हुने चीनविरोधी गतिविधि नियन्त्रणका लागि पनि राजपा नेपालसँग सम्बन्ध बढाएको हुनसक्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…