जनकपुर-जयनगर रेल माघ तेश्रो सातादेखि सञ्चालनमा आउने
रेल सञ्चालनका लागि विभागले करिब दुई सय कर्मचारी आवश्यक पर्ने जनाएको छ ।

२०७६ पुस २२ मंगलबार, दिउँसो ३:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–जयनगर रेल अगामी माघ तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रो सात्तादेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
‘जनवरी ३० सम्म कोकन रेलवेजले रेल हस्तान्तरण गर्नेछ । फेब्रुअरी पहिलो सातादेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने तयारीमा छौं,’ मिश्रले भने। कोकन रेलवेजले भारतको चेन्नईमा नेपाल आउने रेल बनाइरहेको छ ।
रेल सञ्चालनका लागि भने ऐन तयार भइसकेको छैन । त्यस्तै विभागले आवश्यक कर्मचारीको पनि व्यवस्थापन गर्न सकेको छैन । रेल सञ्चालनसम्बन्धी ऐन तथा कर्मचारी भर्ना गर्न आर्थिक स्रोतको जोहो नहुँदासम्म विभागले केही भारतबाट (२८ जना) र केही अवकाश पाएका कर्मचारी प्रयोग गरी रेल चलाउने तयारी गरेको मिश्रले बताए । ‘चालक लगायत विज्ञ कर्मचारी रेल निर्माण गर्ने कम्पनीसँग लिन्छौं,’ उनले भने, ‘अपुग जनशक्ति विगतमा अवकाश पाएका कर्मचारीलाई पुनः करारमा भर्ना गर्छौं ।’
विगतमा रेल विभागसँग करिब डेढ सय कर्मचारी कार्यरत भए पनि हाल २० जनामात्र कार्यरत रहेको मिश्रले जानकारी दिए । कैयौं वर्ष रेल सञ्चालन नभएपछि अधिकांश कर्मचारीले अवकाश लिएका थिए । पुनः रेल सञ्चालनका लागि विभागले करिब दुई सय कर्मचारी आवश्यक पर्ने जनाएको छ ।
ती कर्मचारीको पूर्तिका लागि विभागले अर्थ मन्त्रालयसँग दरबन्दी थपको माग पनि गरेको छ । तर अर्थले आर्थिक वर्षको बीचमा त्यति धेरै कर्मचारी थप गर्न नसकिने जवाफ दिएपछि अवकाश पाएका कर्मचारीबाटै काम चलाउने तयारी गरिएको बताइएको छ । रेल सञ्चालनका लागि विभागले दुई सय कर्मचारीको दरबन्दी स्वीकृत गर्न अर्थमा फाइल पेस गरेको जनाएको छ । यो खबर नागरिक दैनिकमा छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…