जनकपुरका मेयर लालकिशोर साहद्धारा अमिनलाई अभद्र गालीगलौज सहित धम्की !
नाप नक्सापछि चिनो लगाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले पत्र काटेका थिए ।

२०७६ पुस २२ मंगलबार, बिहान ९:१५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नगरपालिकाका एक अमिनलाई अभद्र गाली गलौज सहित धम्की दिएका छन् ।
जानकी मन्दिरको जग्गा अतिक्रमण प्रकरणमा अतिक्रमण गरिएको घर, जग्गामा चिनो लगाउने जिम्मेवारी पाएका नगरपालिकाका अमिन ईन्द्रेश कुमार साहलाई धै धम्की दिँदै अभद्र गाली गलौज गरेका हुन् । जानकी मन्दिरको अगाडी रहेको जानकी फूलबारीको जग्गा अतिक्रमण भएपछि एक्सनमा आएका युवाहरुले निरन्तर अतिक्रमित जग्गालाई खाली गराउन प्रयासरत रहेको बेला मेयर साहले आफ्नै डेरामा बोलाएर अमिन साहलाई अभद्र गालीगलौज तथा नोकरीबाट हटाइदिने धम्की दिएको रहस्य बाहिर आएको छ ।
महिनौदेखि निन्तर चलेको फूलबारी बचाउको प्रयासपछि जिल्ला प्रशासन कार्यालय धनुषाले पुस २१ गते विहान १० बजे सबै पक्षको रोहबरमा जग्गा नापी गरी स्केच नक्सा समेत तयार पार्न नापी कार्यालय धनुषाका सर्वेक्षक तथा अमिनहरुलाई पत्र काटेको थियो । यता, जनकपुरधाम उपमहानगरपालिकाका अमिनहरुलाई समेत त्यहाँ गएर नाप नक्सापछि चिनो लगाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले पत्र काटेका थिए ।
सोमबार विहानै अधिकृत जोशीले अमिनहरुलाई चिनो लगाउनको लागि पत्र काटेका थिए । चिनो लगाउने पत्र काटिएपछि नगरपालिकाका अमिन (प्रमुख) रतन साहले एकाएक विदामा बसे भने ईन्दे्रशलाई आफ्नो डेरामा फोन गरी बोलाएर अभद्र अभद्र गाली गलौज सहित नोकरीबाट हटाइदिने धम्की समेत दिए ।
अधिकृत जोशीले पत्र काटेपछि उनको सरुवा गरिएको बुझिएको छ । जोशीका अनुसार माथिल्लो तहबाट पत्र काटने आदेश आएपछि आफू नाप नक्सा भएपछि खाली गराउनुपर्ने जग्गामा रातो चिनो लगाउन पत्र काटेको स्वीकारेका हुन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै अधिकृत जोशीले सोमबार विहानै पत्र काटेको पनि स्वीकारे । यसपछि आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
यता, गाली गलौज गरिएका अमिन साहले आफू करार सेवामा रहेको र आफूलाई जागिरबाट हटाइदिने धम्की सहित अभद्र गाली गरिरहँदा आफू किन गाली गर्नुभएको भनेर सोध्दा पनि गार्डकै अगाडी अभद्र व्यवहार गरेको बताएका छन् । उनले भने–“म सधैं सत्यको बाटोमा छु, जनकपुरको हरेक ठाउँमा मैले नै चिनो लगाएको छु, अब जानकी फूलबारीको लागि मेयर साहबले किन यस्तो गर्नुभयो त्यो मलाई नै थाहा भएन् । जनकपुरमा पाप गरे अन्त्य मुक्ती पाउने छैन, मैले जानकी जिको ठाउँमा सत्यको बाटो छाडेको होइन् ।”
मेयर साहले गाली गलौज गर्दै नगरपालिका कार्यालयभित्र नछिर्न धम्काएको बताउँदै उनले नगरपालिकाकै एक कर्मचारीले फोन गरेर कार्यालय नआउन भनेपछि आफू डरले कार्यालय नगएको बताएका छन् । उनले एकपटक जसोतसो कार्यालय हाताभित्र छिरेपनि डरले केही बेरमै निस्केर घर गएको बताए ।
सोमबार भएको जानकी फुलबारीको नाप नक्सामा पूर्व तर्फ ४ फिट ५ ईन्चसम्म घर भत्काउनुपर्ने अवस्था देखिएको बताईएको छ । यद्यपी नापी कार्यालयले यसको रिपोर्ट सार्वजनिक गरेको छैन् । नापी कार्यालयबाट प्रदीप कुमार साह, पुलकित साह र राम परीक्षण पण्डितलाई नाप जाँच गरी स्केच नक्सा समेत तयार गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएको थियो ।
यता, जानकी फूलबारी अतिक्रमित भएको र खाली गर्नुपर्ने भन्दै निरन्तर प्रयासमा रहेका युवाहरुले फूलबारीको जग्गा नाप नक्सा भईरहँदा मेयर साहले अमिनलाई गालीगलौज र अधिकृतको आकस्मिक सरुवा हुनुले त्यहाँ रकमको लेनदेनमा जानकी मन्दिरको जग्गा अतिक्रमण गरी व्यक्तिहरुको घर बचाएको प्रष्ट भएको बताएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…