नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण
निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ ।

२०७६ पुस ७ सोमबार, दिउँसो १:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नारायणी नदीमा क्रुज सिप (मिनी पानीजहाज) को ‘टेष्ट ड्राइभ’ गरिएको छ ।
आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको थियो ।
मिनी क्रुज सिपको टेष्ट ड्राइभ सफल भएपछि निर्माणकर्ताहरु हर्षित छन् । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक यति ठूलो क्रुज सिप बनाएर सफलतापूर्वक टेष्ट ड्राइभ गर्दा निकै खुसी लागेको बताए । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् ।
एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएको छ ।
यसको गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ । क्रुज सिप सञ्चालनपछि नारायणी नदी किनार पूर्णरुपमा रिक्रिएसन सेन्टर बन्ने निर्माण पक्षको दाबी छ । सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा यो क्रुज सिप पनि एक कोशेढुंगा सावित हुने कम्पनीको विश्वास छ ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने क्रुज सिपको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्त रुपमा गराउने योजना रहेको कम्पनीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…