बिराटनगरमा अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु : 'मैथिली भाषालाई सत्ता पावरसँग जोडियोस्'
नेपालमा दोश्रो सबैभन्दा बढी बोलिने मैथिली भाषालाई राज्यले मुल्यांकन गर्नुपर्ने उनले बताए ।

२०७६ पुस ६ आइतबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बिराटनगर । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।
बिराटनगरमा आज (आइतबार) देखि सुरु भएको दुईदिने १७औं अन्तराष्ट्रिय मैथिली सम्मेलन २०१९ लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । नेपालमा दोश्रो सबैभन्दा बढी बोलिने मैथिली भाषालाई राज्यले मुल्यांकन गर्नुपर्ने उनले बताए ।
मैथिली भाषालाई सरकारी कामकाजी भाषा बनाइए र सत्ताको पावरसँग जोडिए थप समृद्ध हुने राज्यमन्त्री मण्डलले धारणा राखे । राज्यमन्त्री मण्डलले आफ्नो फेसबुक वालमा मैथिलीमै लेखेका छन्, ‘दोसर पैघ भाषाके रुप में अपन पहिचान बनओने मैथिलीके आयतन दिनप्रतिदिन सिकुरल जारहल अछि, एकर कारण कि ? कोनो भाषा समाजके लेल कि समाज भाषाके लेल ? मैथिलीके सरकारी कामकाजके भाषा बनाओल जाए । रोटीके बनाओल जाए । एकरा सत्ता पावरसँ जोरल जाए । जीवन यापनसँ जोरल जाए । तब जाक मैथिली और समृद्ध होइत ।’
उनले यस विषयबस्तु माथि छलफल हुने आशासमेत लिए । यसमाथि गम्भीर हुन सरकारलाई समेत उनले ध्यानाकर्षण गराए । यो सम्मेलनले मैथिली भाषालाई थप उचाईमा पुर्याउन ठूलो योगदान पुग्ने भन्दै उनले आयोजक समितिलाई धन्यवाद पनि दिए ।
आजदेखि सुरु भएको सम्मेलनको नेपाल सरकारका उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । सम्मेलन भोलि (सोमबार) सम्म चल्नेछ ।
जारी सम्मेलनमा नेपालसहित विभिन्न देशबाट मैथिली भाषीहरुको बाक्लो सहभागिता छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…