आज जानकी मन्दिरको जग्गा नापी हुँदै
जानकी मन्दिरको सार्वजनिक फुलबारी भत्काएको भन्दै निरन्तर विरोध गर्दै आएको थियो ।

२०७६ मंसिर ४ बुधबार, बिहान ९:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अतिक्रमित एवम् विवादित भएको जनकपुरको जानकी मन्दिरको फूलबारीको जग्गा नापी हुने भएको छ ।
नापी विभाग अन्तर्गतको नापी कार्यालय धनुषामा परेको उजुरीको आधारमा नापी कार्यालयले आज जग्गा नाप जाँच गर्ने पत्राचार गरेको हो । मुख्यमन्त्री कार्यालय प्रदेश नं. २, जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३,४ र ६ लाई आवश्यक सहयोगको लागि बोधार्थ समेत गरेको छ ।
स्थानीय नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले नापी कार्यालयमा दर्ता गराएको निवेदन उपर सुनुवाई गर्दै जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रमण गरी त्यहाँको नीजि घरलाई बचाएर फुलबारी भत्काएको भन्दै जग्गा नापीको लागि निवेदन गरेको थियो ।
जानकी मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृत हुने तरखरमा रहेपनि केही जनप्रतिनीधिले नै मोटो रकम घुस लिएर जानकी मन्दिरको फुलबारी भत्काएको आरोप लगाइएको छ । नापी आज (बुधबार) विहान ११ बजे हुने र सबै पक्षलाई उपस्थितिको लागि पनि भनिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चलानी नं. २७३ को गत कार्तिक २९ गतेको पत्राचार अनुसार नागरिक समाजको रोहबरमा जानकी मन्दिरको अतिक्रमित जग्गा नापजाँच गरी गरेको निवेदनको आधारमा आज नाप जाँच हुने बताइएको छ । विगत केही महिनादेखि जानकी मन्दिरको फुलबारीलाई भत्काएर रकमको चलखेल गरी स्थानीय जनप्रतिनीधिले नै नीजि घरहरु बचाएको आरोप लगाएपछि विवाद भएको थियो ।
नापी कार्यालय जनकपुरको चलानी नं. ४८८ र मँसिर ३ गते मँगलबार गरेको पत्राचारमा जानकी मन्दिरको उक्त जग्गा नापीको लागि सर्वेक्षक प्रदीप कुमार साह, राम परीक्षण पण्डित र पुलकित साहलाई जग्गा छुटयाउन खटाएको हो । जग्गा नापी हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था समेत सबल पारिने जनाइएको छ ।
जानकी मन्दिरको फुलबारी काण्डमा त्यहाँ स्थित सँचालित केही होटल व्यवसायीहरुले नगरपालिकाका जनप्रतिनीधिहरुलाई मोटो रकम दिएर आफ्नो होटल बचाएको तथा जानकी मन्दिरको सार्वजनिक फुलबारी भत्काएको भन्दै निरन्तर विरोध गर्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…