काठमाडौं–मधेश द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट
यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

२०७६ कार्तिक २० बुधबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ ।
यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पारे ।
त्यसैगरी साधारण पुल निर्माणका लागि यो वर्षको फागुनसम्म स्वदेशी निर्माण कम्पनी चयन भई सम्झौता भई काम सुरु भइसक्ने जानकारी सैनिक प्रवक्ता पाण्डेले दिए । द्रुतमार्गमा परेका कुल ८७ वटा पुलमध्ये अन्तर्रा्ष्ट्रिय कम्पनीले विशेष प्रकृतिका १६ वटा पुल र तीनवटा टनेल निर्माण गर्नेछन् भने बाँकी पुलको निर्माण स्वदेशी कम्पनीले गर्नेछन् ।
साधारण प्रकृतिका पुलहरू निर्माणका लागि बोलपत्र आह्वान गर्न ‘डकुमेन्ट’ तयारीको काम भइरहेको छ । स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गमा जम्मा ८७ वटा पुल प्रस्ताव गरिएकोमा १६ वटा विशेष प्रकृतिका रहेका छन् ।
त्यसैगरी तीनवटा टनेल प्रस्ताव गरिएको छ । विशेष प्रकारका पुल र टनेल निर्माणको जिम्मा विदेशी कम्पनीलाई मात्र दिनसक्ने नेपाली सेनाले स्पष्ट पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…