सिरहा : गोलबजारमा राष्ट्रिय स्तरको 'एक्सपो' हुँदै, शिक्षामन्त्रीले उद्घाटन गर्ने
समाजिक रुपान्तरणको मूल एजेन्डा लिएर सक्रिय यस क्लबले आयोजना गर्न लागेको एक्सपोमा मधेश क्षेत्रको विभिन्न सांस्कृतिक प्रदर्शनी गरिनेछ ।

२०७६ कार्तिक १९ मंगलबार, दिउँसो २:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा राष्ट्रिय स्तरको दुईदिने एक्सपो हुने भएको छ ।
आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारको आयोजनामा दुईदिने ‘गोलबजार एक्सपो–२०७६’ हुन लागेको हो । क्लब स्थापनाको पहिलो वर्षको अवसर पारेर सिरहाको गोलबजारस्थित श्री जनता नमूना उमाविको प्रांगनमा कार्तिक २२ र २३ गते गर्न लागिएको एक्सपोमा विभिन्न ठाउँको विद्यालयबाट सहभागी विद्यार्थीले आफ्नो बुझाई र सिकाई प्रोजेक्ट मार्फत् प्रस्तुत गर्ने आयोजक क्लबले जनाएको छ ।
समाजको पौराणिक कला तथा संस्कृतिलाई संरक्षणसहित समाजिक रुपान्तरणको मूल एजेन्डा लिएर सक्रिय यस क्लबले आयोजना गर्न लागेको एक्सपोमा विद्यार्थीभित्र लुकेर रहेको कला प्रष्टफुटन हेतु तराई मधेश क्षेत्रको विभिन्न सांस्कृतिक प्रदर्शनी गरिनेछ । कार्यक्रमको पहिलो दिन सहभागी विद्यार्थीहरुद्धारा विज्ञान, वातावरण, समाजिक र कला गरी चार संकायका प्रदर्शनी हुनेछ भने दोश्रो दिन मधेशको पौराणिक जाटजटिन, झिझिया, समाचकेवा लगायत अन्य विभिन्न भाषा र संस्कृतिका लोकनाच प्रस्तुत गरिने जनाइएको छ ।
ठूलो सहभागितासहित भव्य रुपमा आयोजना गर्न लागिएको एक्सपोको उद्घाटन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणी पोखरेलद्धारा हुने तय भएको क्लबका अध्यक्ष रामकुमार यादवले जानकारी दिए । आयोजकले कार्यक्रमको लागि तयारी अन्तिमा चरणमा पुर्याएको छ भने बाँकी कार्य पनि तीव्र रुपमा गरिरहेको जनाएको छ ।
कार्यक्रमबाट विद्यार्थीको प्रष्टफुटन, शैक्षिक सुधार र समाजिक रुपान्तरणको अभियानमा मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष यादवले बताए । आरम्भ साईन्स एण्ड कल्चर क्लबले आफ्नो स्थापनाकालको छोटो अवधिमै विभिन्न समाजिक कार्यहरु गरिसकेको छ । कल्बले यसअघि गोलबजार नगरपालिकाको जमदहस्थित एक सामुदायिक विद्यालय परिसरमा सार्वजनिक पुस्कालय स्थापना गरेको थियो भने दुईदिने विद्यार्थी मेलासमेत आयोजन गरेको थियो ।
समाजिक रुपमान्तरणको निम्ति निरन्तर सक्रिय रहेको आरम्भ साईन्स एण्ड कल्चर क्लबले यस अभियानमा सबैलाई हातेमालो गरी आ–आफ्नो स्तरबाट योगदान गर्न अपिलसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…