प्रदेश प्रमुखमा सिफारिसपछि सिरहा निवासी यादव भन्छन् : 'अन्ततः फल पाएँ'
राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् ।

२०७६ कार्तिक १८ सोमबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश प्रमुखका लागि ७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश नं. ५ को प्रमुखमा सिरहाका धर्मनाथ यादवलाई सिफारिस गरेको छ ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिन्छन् । २००० सालमा सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेको बताए । त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका भए ।
२०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए । त्यसपछि पनि ७६ वर्षीय यादवले ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि पराजीत भएका थिए । राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् ।
यादव आफैले भने पार्टीले प्रदेश प्रमुख जस्तो गरिमामय पदमा आफ्नो नाम सिफारिस गरेर उचित मूल्याङ्कन गरेको बताए । आज सोमबार विहानसम्म कुनै जानकारी नभएका यादव गाउँमै थिए । विहान १० बजेको आसपास केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सूनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सूचना पाएको यादवले बताए ।
गाउँमा रहेका यादव सूचना पाएपछि गोलबजार आएका थिए । गोलबजारमा केही वेर वसेपछि उनी पार्टीका नेताहरुले काठमाडौं बोलाएको भन्दै आजै काठमाडौं हिडेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…